Logo

पार्टी एकिकरणलाई अबिलम्ब पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्नुपर्छ : नेता खनाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले तत्कालीन एमाले महासचिव जननेता कमरेड मदन भण्डारी र जीबराज आश्रितको २७औँ मदन आश्रित स्मृति दिवसको स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरेका छन् । नेपाल कम्युष्टि पार्टीको एकीकरण दिवश तथा मदन आश्रित स्मृति दिवसको अवसर शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले आजको दिनलाई ऐतिहासिक रुपमा ब्याख्या गरेका छन् ।
नेताले खनालले अबका दिनमा थप मजबुत र एकताबद्ध पार्टी निर्माण गर्न पार्टी एकिकरणलाई अबिलम्ब पुरा गर्दै समाजवादको लक्ष्यमा दृढता पूर्बक अघि बढ्नुपर्ने पनि बताएका छन् । तत्कालीन एमाले महासचिव भण्डारी र जीबराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएको थियो ।

नेता खनालद्वारा जारी विज्ञप्ति

आज २०७७ जेठ ३ गते एक ऐतिहासिक दिन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो स्थापना दिवसको दिन हो । साथै तत्कालीन पार्टी महासचिव जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जीबराज आश्रितको २७औँ मदन आश्रित स्मृति दिवसको दिन पनि हो । यस ऐतिहासिक दिनका अवसरमा म सर्बप्रथम वहाँहरुप्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछु । साथै कम्युनिष्ट आन्दोलनलाई आजको उचाईसम्म ल्याइपुर्याउन जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात­अज्ञात महान् सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।
आजसम्मको ७१ बर्षलाई हेर्दा कम्युनिष्ट आन्दोलनले नेपाली समाजमा ऐतिहासिक उपलब्धीहरु हासिल गरेको छ । हामीले शान्तिपूर्ण जनक्रान्तिको बलबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौ । समाजवादउन्मुख संविधानको निर्माण गर्यौ । हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकीकरण गर्यौ । आम निर्बाचन सम्पन्न गर्यौ । संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय सरकार गठन गर्यौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार संचालित छ र यो सरकारको माध्यमबाट हामीले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने अभियान लाई अगाडि बढाइरहेका छौँ । यी असाधारण उपलब्धीहरु हुन । तर इतिहासले हाम्रो काधमा राखी दिएका दायित्वहरु पुरा गर्ने मार्गमा ठुलठुला चुनौतिहरु पनि देखा परिरहेका छन । यस्तो अबस्थामा पार्टीलाई सही नीति, विधि र पद्धतिका आधारमा अघि बढाउनु पर्छ । थप मजबुत र एकताबद्ध पार्टी निर्माण गर्न पार्टी एकिकरणलाई अबिलम्ब पुरा गर्नुपर्छ र समाजवादको लक्ष्यमा दृढता पूर्बक अघि बढ्नुपर्छ ।
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड (१९) लाई पराजित गर्नको लागि सरकारको प्रयत्न र प्रयास निरन्तर जारी छ । यस्तो विषम परिस्थितिमा कोभिड १९ को प्रकोप लाई नियन्त्रण गर्नको लागि एकताबद्ध भई लाग्न नेकपाका सम्पूर्ण नेता,कार्यकर्ताहरु, शुभेच्छुकहरु, बुद्धिजीवीहरु, अभियन्ताहरु, पत्रकारहरु साथै सम्पूर्ण जनसमुदायहरुलाई आग्रह गर्दछु ।

२०७७ जेष्ठ ३ गते ।
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री बरिष्ठ नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रतिक्रिया दिनुहोस्