Logo
Logo

विश्वव्यापी अनलाइन पालाम प्रतियोगिता हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ । धान नाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रुपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाह जस्ता कार्यमा देख्न पाइन्छ । यही पाःलामको विश्वव्यापी अनलाइन प्रीतयोगिता हुने भएको छ ।
विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै याक्थुङ कल्चरल गु्रपले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको हो । यसका लागि सम्पूर्ण देश–विदेशमा रहेका संस्कृतिप्रेमीलाई पालामका लागि आह्वान गरेको छ ।
प्रतियोगीले पाःलाम विशुद्ध लिम्बू भाषामा हुनुपर्ने, गैरलिम्बू भाषा प्रयोग गरिए स्वतः खारेज हुने आयोजकले जनाएको छ । त्यस्तै पहिले रेकर्ड नगरिएको पाःलाम जुनसुकै ‘मुई’को गाउन सकिने, कम्तिमा ५ मिनेट र बढीमा ७ मिनेटको हुनुपर्ने, पाःलाम पठाउँदा स्पष्ट अनुहार देखिने गरि ल्याण्डस्केपमा भिडियो खिचेर पठाउनुपर्ने आफ्नो नाम तथा ठेगाना स्पष्टसँग लेखेर पठाउनुपर्ने जनाइएको छ ।
१५ जेठ साँझ ६ बजेदेखि प्रत्येक साँझ पाःलामहरू याक्थुङ कल्चरलको आधिकारिक पेज र नयाँ अनलाइनको युटुब च्यानलमा अपलोड गरिने जनाइएको छ ।
फेसबुक तथा युट्युवमा अपलोड गरिएको १५ दिनभित्र प्राप्त भएका प्रतिक्रियालाई मान्य हुने र कुनै विवाद उत्पन्न भएमा अन्तिम निर्णय आयोजक र निर्णायक मण्डलमा निहित हुने आदि नियमहरु आयोजकले राखेको छ ।
पालाम प्रतियोगितामा विजेतालाई नगद रु ३० हजारसहित एउटा पाःलाम निशुःल्क रेकर्ड, प्रमाण–पत्र र अन्य अकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यसैगरी द्वितीय पुरस्कार २५ हजार रुपैयाँ, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार र तृतीय पुरस्कार २० हजार रुपैयाँ, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार दिने जनाइएको छ ।
प्रतियोगीमा सहभागी पाःलामलाई सामाजिक सञ्जालबाट प्राप्त प्रतिक्रियाबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत अंक प्राप्त गर्ने पनि जनाइएको छ । पाःलाम ३० जेष्ठसम्ममा जम्मा गर्ने र विजेताको घोषणा १ साउनमा सार्वजानिक गर्ने पनि आयोजकले जनाएको छ । कार्यक्रमको लागि हालसम्म युकेका विश्वासदीप तिगेला, हङकङका रोशन यक्सो र चौबिसे संयक ढाका उद्योग धरानले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्