
काठमाडौं । नेकपा एमाले कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पनि सहकारी ठगीमा मुछिएका छन् ।
झापाको शिवसताक्षी नगरपालिका–३ मा खोलिएको उन्नति बचत तथा ऋण सहकारीको एक करोड ३९ लाख ७७० रुपैयाँ रकम अध्यक्ष सुमन र पदाधिकारीले अपचलन गरेको पाइएको हो ।
त्यसबाहेक २३ लाख २२ हजार ५९९ रुपैयाँ भने सहकारीको खातामा अहिले पनि बचत रहेको शिवसताक्षी नगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका उल्लेख छ । नगरपालिकाका कार्यपालिका सदस्य रामनरेश शर्माको संयोजकत्वमा रहेको समितिको प्रतिवेदनअनुसार गाउँका नागरिकलाई पैसा जम्मा गर्न लगाएर अध्यक्ष सुमनले हिनामिना गरेको पाइएको हो ।
‘बचतकर्ताको खाताबाट निकालिएको रकम संस्थाको सम्पूर्ण कारोबारहरू सञ्चालन गर्ने संस्थाका अध्यक्षबाट पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । सांसदकै छोराले वडाका बचतकर्ताको बिचल्ली बनाएका हुन् । १५ सयदेखि पाँच लाखसम्म बचत गर्ने सात सय हाराहारी बचतकर्ताको रकम अपचलन भएको छानविनका क्रममा भेटिएको छ ।
छानबिन प्रतिवेदनसहित थप अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले सहकारीको छानबिन प्रतिवेदन प्राप्त भएको र प्रतिवेदनमा टेकेर थप अनुसन्धान हुने बताए । प्रहरीले अध्यक्ष खनालसहितका सञ्चालकको तीनपुस्ते विवरण माग्दै वडामा पत्र पठाएको छ । उक्त सहकारी भने दुई वर्षअघि नै बन्द भइसकेको छ ।














