Logo
Logo

कोरोना महामारीपछि अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ : प्रम


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालले आफूलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने भएको बताएका छन् ।
नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममा कोरोना रोकथाम र नियन्त्रण गर्न पहिलो प्राथमिकता भएको बताएका हुन् । छिमेकी भारतबाट संक्रमित भएर आउने संख्या अत्यन्त बढी भएको र उनीहरु लुकेर बस्ने भएकाले गम्भीर भएर रोकथाममा लाग्नुपरेको जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘मानव जातिले कोरोनालाई पराजित गर्नेछ । नेपाललाई कोरोना मुक्त बनाउन र विश्व कोरोना मुक्त हुनेछ भन्ने विश्वास लिएका छौँ ।’
उनले अर्थतन्त्रमा पारेको प्रभावले उत्पादनमा ह्रास आएको र राजश्व कम उठेको, रेमिन्ट्यान्समा असर परेको जनाउँदै यसको सामना गरेर जीवन र समाज चलाउनुपर्ने उल्लेख गरे । उनले सम्भव हुनेसम्म रोजगारीका अवसर अपलब्ध गराउने र आयआर्जन सुनिश्चित गर्नु दिगो व्यवस्थापन हुने भएकाले अर्थतन्त्रलाई कमजोर हुन नदिनका लागि सरकार त्यस बाटोमा अग्रसर भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी मुलुकमा न्याय र समानतासहितको विस्तृत लोकतन्त्रको पालनाका पक्षमा छौँ । हामी सर्फेसियल वा चल्ते चलाते लोकतन्त्रका पक्षमा छैनौँ ।’ प्रधानमन्त्री ओलीले सात दशकभन्दा लामो संघर्षपछि लोकतन्त्र रहेको र संघीय संरचना स्थानीय तह निर्माण गरेर संविधानबमोजिम नयाँ कानूनको निर्माण र पुरानो कानून संशोधन गरिएको उल्लेख गर्दै सरकारले भौतिक संरचना निर्माण गरी संघीयताको बाटोमा अघि बढाएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्