Logo
Logo

चन्द्रागिरिका ११३ जनाको आरडिटी परीक्षण, ९ जनामा पोजेटिभ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ जेठ । चन्द्रागिरि नगरपालिकाका ९ जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना संक्रमितको संख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।
चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणका क्रममा नौ व्यक्तिको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए । उनले भने, ‘चन्द्रागिरी नपाका वडा नं १२ बलम्बु, वडा नं १३ पुरानो नैकाप र वडा नं १४ नयाँ नैकापमा गरिएको ११३ जनाको परीक्षणमा नौ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।’
आरडिटी रिपोर्ट पोजेटिभ देखिएका नौ व्यक्तिको पिसीआर परीक्षण गर्न लागिएको चन्द्रागिरि नपाले जनाएको छ । आरडिटी पोजेटिभ देखिएसँगै चन्द्रागिरि नपाले क्वारेन्टिनको क्षमतालाई समेत विस्तार गरेको छ । नगर प्रवक्ता महर्जनले थानकोट प्राथमिक अस्पताल र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टिन विस्तार गर्न लागिएको जानकारी दिए ।
चन्द्रागिरिले आजदेखि १०० श्ययाको क्वारेन्टिन थप गरेको छ । कोरोना सङ्क्रमणको रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिलाई क्वारेन्टिन र गम्भीर बिरामीलाई आइसोलेसनमा राख्नका लागि क्वारेन्टिन विस्तार गर्न लागेको हो । केही दिनअघिमात्र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि चन्द्रागिरि नपाले नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई प्राथमिकता दिँदै आएको छ ।
चन्द्रागिरिले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि प्रवेश गरेका व्यक्तिको लगत संकलन गरी कोरोना परीक्षणलाई तीव्रता दिएको नगरप्रमुख घनश्याम गिरीले बताए ।
चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परीक्षण गर्दै आएको छ । हालसम्म चन्द्रागिरि नपाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्