Logo
Logo

अधिकृतसँग २६ करोडको सम्पत्ति, जहाँ जागिर त्यही घर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ जेठ।
लामो समय गाविस सचिव भएर काम गरेका नेपाल सरकारका एक अवकाशप्राप्त अधिकृतसँग करिब २६ करोडको सम्पत्ति भेटिएको छ । त्यसमध्ये १८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेका छन् । गत वर्षसम्म टोखा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ऋषिराम अर्यालले यसरी अस्वभाविक सम्पत्ति जोडेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


उनीविरुद्ध आयोगले बुधबार बिशेष अदालतमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । १७ करोड ८३ लाख ४१ हजार पाँच सय ७९ रुपैयाँ सम्पत्तिको स्रोत खुल्न नसकेपछि उनको परिवारै विरुद्ध मुद्दा दायर भएको छ ।

अर्यालले राजपत्रांकित अनंकित द्वितिय तहबाट २०३९ सालमा जागिर थालेका थिए । गाविस सचिवका रुपमा स्याङजाबाट जागिर सुरु गरेका उनी लामो समय स्थानीय तहमा काम गरे । पछिल्लो पटक टोखा नगरपालिकामा कार्यरत थिए ।

उनले श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा पाँच करोड ४४ लाख ८५ हजार आठ सय ५४ रुपैयाँमा घर जग्गाखरिद गरेका थिए । विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरिदमा नौ करोड १३ लाख ७८ हजार एक सय २१ रुपैयाँको लगानी गरोके देखिएको छ । छोरी छोराहरुको अध्ययनमा २० लाख ३२ हजार, विवाहमा २८ लाख खर्च गरेको आयोगले जनाएको छ ।
न्यू लिङ्क कापी उद्योग र एल.डि.इन्टरप्राइजेज फर्ममा चार करोड ४२ लाख ५० हजार गानी गरेका थिए । १२ लाखको सवारी साधन, चार लाखको सुन, चार करोड ५० लाख ३३ हजार रुपैयाँ विभिन्न व्यक्तिलाई दान तथा सरसापटी दिएको समेत आयोगको छानबिनमा खुलेको छ । बैंक खाताहरुमा १५ लाख ७६ हजार गरी उनीहरुसँग २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको सम्पत्ति भेटिएको छ । जसमध्ये अर्यालले जम्मा आठ करोड ७७ लाख २७ हजार चार सय ८३ रुपैयाँ बराबरको सम्पत्ति मात्र बैधानिक रुपमा आय आर्जन गरेको र बाँक िसम्पत्ति भ्रष्टाचार गरेर उनले कमाएको आयोगाको दाबी छ । .

उनले धेरै सम्पत्ति काठमाडौंको साविकको धापासी, टोखा सरस्वती गा.वि.स. भिमढुंगा गाविसमा सचिवका रुपमा रहँदा उनले धेरै सम्पत्ति कमाएका थिए । अनुसन्धानमा आबद्ध आयोगक एक अधिकारीका अनुसार आफू कार्यरत रहेका गा.वि.स. तथा कार्यक्षेत्र अन्तर्गतका स्थानहरुमा अधिकांश घरजग्गाहरु सिर्जना गरेको पाइएको छ ।

आयोगले ऋषिरामकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरु सुशिल अर्याल, सुनिल अर्यालसमेतलाई सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्