Logo
Logo

लौ हेरौँ, ‘माटो बचाउन जुटौँ नेपालीे’ भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ । यतिबेला विश्व कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट गुज्रिरहेको छ । विश्व नै महामारीबाट कसरी बच्ने भन्ने चिन्तामा डुबिरहेको बेला नेपाली भुमिमा भारतले सडक निर्माण गरेसँगै माहोल नै फरक बनेको छ ।
यसै सन्दर्भमा अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको संगीतमा सामुहिक देशभक्ति गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ । विश्व मानवजातीकै अस्तित्वमाथि समस्या बनिरहेको कोरोना भाइरसको महामारीसँग विश्व समुदाय एक जुट भएर कोरोनाविरुद्ध लड्न बेलामा भारतले भने नेपालको भूमि अतिक्रमण गरेर बाटो बनाएपछि विश्वमा रहेका नेपालीले आफ्नै तवरले आफ्नो देश बचाउन आवाज उठाइरहेका छन् ।

यस्तै कलाकारले पनि आफ्नो देश बचाउन कलामार्फत आवाज उठाइरहेका छन् । बलिउडकी चर्चित अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले आफ्नो देशका लागि दुई शब्द बोल्दा यतिखेर उनले भारतमा गाली सहन बाध्य भएकी छन् । मनिषाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गरेकै भरमा भारतीय मिडिया र जनता उनी विरुद्ध लागेका छन् । तर, नेपाल र नेपाली कहिल्यैं कहिँ कतै झुक्दैन भन्ने सवाललाई अंगिकार गर्दै आफूलाई गाली गर्नेहरुलाई मनिषाले जवाफ दिइसकेकी छन् । उनले बुधबार नै ट्विटमार्फत ‘भारतलाई श्रम बेचेको तर स्वभिमान होइन’ भन्दै जवाफ दिएकी छन् ।
यस्तै अहिले नेपाली जनता पनि भारतको हेपाइ प्रवृत्तिको विरोधमा उत्रिएका छन् । यसैबेला गायक, संगीतकार तथा गीतकार अमृत खातीले छिमेकीले मिचेको भुमिले बेस्सरी दुखायो भन्दै गीत ल्याएका हुन् । गीतमा अमृत खाती, राजा राजेन्द्र पोखरेल, बिक्रमजंग शाह, सिर्जु अधिकारी र अनु अधिकारीले आवाज भरेका छन् ।
महामारीको यो अवस्थामा गीत रेकर्ड गरी भिडियो बनाएर सार्वजनिक गर्न त्यत्ति सहज थिएन । उनीहरुले यो समयमा पनि गीत यु–ट्युबमार्फत सार्वजनिक गरेका छन् ।
उक्त गीतमा रेकर्डिङ र मिक्सिङ सञ्जय शृपालको रहेको छ भने निर्देशन र सम्पादन हुम गैरेको छ । नेपाल सरकारले मिचिएको नेपाली भूमि लिम्पियाधुरा, कालापानीसहित समेटेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । अब आफ्नो पहिचानसहित स्वाभिमान बोकेका नेपालीका लागि नयाँ नक्सामा भएको जमिन फिर्ता गर्न एकजुट हुन जरुरी रहेको छ । त्यसैलाई साथ दिन यो गीत बनाएको कलाकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्