Logo
Logo

आलमको घरमा प्रहरीको हवाई फायर, तर पक्राउ परेनन् भाई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ जेठ ।
बहुचर्चित रौतहट बम काण्डका अभियुक्तलाई लकडाउनको समयमा पक्राउ गर्ने प्रहरीको योजना असफल भएको छ । प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको रौतहटस्थित घरमा प्रहरीले छापा मारेपनि उनका भार्यलाई पक्राउ गर्न सकेन । आलमका भाई महताब सहित अन्य तीन आरोपी घरमा आएको सूचना प्रहरीकहाँ आएपछि गए राति प्रहरीले छापा मारेको हो।
आलमको घरमा छापा मारेकोे पुष्टि गर्दै प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले भने, ‘आलमका भाइसहित तीन जना घरमा आएको सूचना आएपछि छापा मारेको हो। तर केही पनि फेला परेन।’

एक दर्जन मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर मारेको आरोपमा पुर्पक्षका लागि आलम जेल चलान भए पनि सोही कसुरमा संलग्न अन्य व्यक्ति भने फरार हुँदै आएका छन्।

आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलगायत फरार छन् । उनीहरु मध्ये तीन जना गए राति रौतहट आएको सूचना आएपछि जिल्ला प्रही कार्यालय रौतहटबाट प्रहरी टोली परिचालन भएको थियो ।
आलमको घरमा खानतलासी गर्नेक्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले भीडलाई तितबितर पार्न १२ राउण्ड हवाइ फायर समेत गर्नु परेको थियो ।
आलम भने हाल नख्खु जेलमा छन् । उनी पक्राउ परेलगत्तै अरु भारत भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्