Logo
Logo

आज २१ जना डिस्चार्ज, ७० जनाले जिते कोरोना


- दृष्टि न्युज/संवाददाता


नेपालगन्ज, ९ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमित बढ्ने मात्र होइन, कोरोना जित्नेहरुको संख्या पनि बढ्दैछन् । आजै शुक्रबार मात्रै २१ जनाले कोरोना जितेका छन् । नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन् । यसअघि ४९ जनाले कोरोना जितिसकेका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या ७० पुगेको छ ।
प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसन अस्पताल उपचाररत २१ जना संक्रमित निको भएर आज घर फर्किएका छन् ।
नेपालगन्जका कूल संक्रमितमध्ये पहिलो कोरोना संक्रमित ६० वर्षीय वृद्धसहित २१ जना निको भएका छन्भने दुईजनाको दोस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा. प्रकाशबहादुर थापाले बताएका छन् ।
दुईजना अझै आइसोलेसनमै उपचार गराइरहेका छन् । २६ र ३१ वैशाखमा कोरोना पुष्टि भएकासहित नेपालगन्जका अझै चारजना आइसोलेसनमा उपचार गरिरहेका छन् । १९ बैशाखमा पहिलो व्यक्तिमा र २३ वैशाखमा २२ जना संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्