Logo
Logo

भ्रष्टाचारको आरोपमा कर्णेलसहित तीन जना बर्खास्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ ।
भ्रष्टाचारको आरोपमा नेपाली सेनाका महासेनानीसहित तीन जना बर्खास्त भएका छन् । सेनाको शुक्रवार बसेको समरी जनरल सैनिक अदालतबाट सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ जना सैनिक अधिकृत तथा २ जना अन्य दर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको सेनाले जनाएको छ ।


कार्वाही पर्नेमा महासेनानी भुपालमान अधिकारी, प्रमुख सेनानी देव बहादुर क्षेत्री र हुद्धा यज्ञराज पोखरेल रहेका छन् । त्यसैगरी अन्य दर्जाहरुमा हुद्धा गणेश बहादुर अधिकारी, लेखा आ.सहसेनानी सुरेन्द्र विक्रम भण्डारी रहेका छन् । सोही मुद्धामा अन्य १३ जनाले अभियोग माग दावीबाट सफाई पाउने गरी फैसला भएको छ ।
सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गर्न सेनाका सहायकरथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको सो निर्णय गरेके हो । बोर्डले २०७६ फागुन २३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गत चैत्र ६ गते गठित समरी जनरल सैनिक अदालतले आज उक्त फैसला गरेको हो ।

महासेनानी भुपालमान अधिकारीले सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क), दफा ५२ को खण्ड (ट) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (ज्ञ) खण्ड (ग) र (घ) बमोजिम २ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने फैसला भएको छ ।

उनले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको विगो रकम एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा असुल उपर गर्ने निर्णय समेत भएको छ ।

सेनाका प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को को दफा ४९ कोखण्ड (क), दफा को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (ज्ञ) खण्ड (च) बमोजिम २(दुई) बर्ष बढुवा रोक्का गर्ने र निजबाट चारलाख चालीस हजार असुल उपर गर्ने फैसला भएको छ ।

हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरेको भन्दै भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउनुका साथै निजबाट तीन लाख साठी हजार) असुल उपर गर्ने फैसला भएको छ । अर्का हुद्धा गणेश बहादुर अधिकारीले आर्थिक अनियमितता गरेको कसुरमा दोषी ठहरीएकोले २ बर्ष तलव वृद्धी (ग्रेड) रोक्का गर्ने निर्णय हुनुका साथै निजले हिनामिना गरेको दश हजार असुल उपर गर्ने फैसला भएको सेनाले जनाएको छ ।

त्यसैगरी लेखा आ.सहसेनानी भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरेकोमा दोषी ठहरीएकोले नसिहत दिने फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस्