Logo
Logo

टिचिङ र ग्रान्डि अस्पतालका बिरामीलाई कोरोना, गंगालालका बिरामीको रिपोर्ट नेगेटिभ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० जेठ ।
अस्पतालहरुमा कोरोना संक्रमणको त्रास बढीरहेको छ । अन्य रोगको उपचारमा अस्पतालमा भर्ना भएका बिरामीहरुमा पनि कोरोना देखिन थालेपछि त्रास बढेको हो ।

 

शुक्रबार सार्वजनिक रिपोर्टअनुसार शिक्षण अस्पताल र ग्रान्डी अस्पतालमा भर्ना भएका दुई बिरामीमा संक्रमण देखिएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा कोरोना पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा सारिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पुष्टि भए लगत्तै उनलाई गएराति नै त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा बनाइएको कोरोना उपचार कक्षमा सारिएको अस्पतालका कोभिड(१९ व्यवस्थापन समितिका संयोजक डा सन्त कुमार दासले बताए।

संक्रमित महिला हेटौंडा ३ मकवानपुरकी हुन्। उनी मुटुको बिरामी भएकाले विशेष सेवा चाहिने भन्दै अस्पतालले कोरोना उपचार कक्षको लेभल थ्रीमा राखिएको डा दासले बताए।

त्यस्तै धापासीस्थित ग्रान्डी अस्पतालमा रहेका एक ३५ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ ।

उता सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका एक बिरामीको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । आरडिटी परीक्षणमा पोजेटिभ आएपछि उनलाई पाटन अस्पतालको आइसोलेसनमा सारिएको थियो । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई गंगालालमै ल्याएर उपचार गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्