Logo
Logo

भ्रष्टाचार आरोपमा सेनाका जर्नेल र कर्णेल पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १० जेठ ।

भ्रष्टाचारको आरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ । सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाललाई सेनाले नै हिरासतमा लिएको हो । यसको छानबिन र सजाय सेनाले आफैं गर्दछ ।


उनीहरु दुवैलाई जेठ ८ गते देखि सुन्धरास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरमा हिरासतमा राखिएको छ । भ्रष्टाचारको पर्याप्त प्रमाण देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सैनिक स्रोत बताएँछ ।
राणा र सिलवालले दुई वर्ष अघि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अनियमितता गरेको अरोप लागेको हो । त्यस बेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए भने सिलवाल उनको मातहतमा काम गर्थे ।

सेनाले आर्थिक अनियमितता भएको संकेत पाएपछि सैनिक ऐन–२०६३ अनुसार उपरथीको नेतृत्वमा कोर्ट अफ् इन्क्वायरी गठन गरी छानबिन भइरहेको छ । उनीहरुको छानबिन अन्तिम चरणमा पुगेको र केही दिनमा सैनिक समरी अदालतले फैसला गर्ने सैनिक स्रोतले बतायो । उक्त आर्थिक अनियमितताको छानबिनका क्रममा कोर्ट अफ् इन्क्वायरी १२ जना अधिकृतसँग पनि बयान लिएको छ । एक जना सुवेदार मेजरलाई पनि थुनामा राखिएको छ ।

सेनाले शुक्रबारमात्र सैनिकले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा आर्थिक अनियमितता गरेको ठहर भएपछि महासेनानी भुपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र दुई अन्य दर्जालाई कारबाही गरेको थियो । जसमा महासेनानी भुपालमान अधिकारीसँग बिगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैयाँ ११ पैसा असुल उपर गर्ने फैसला गरेको थियो ।
पछिल्लो समय सेनाले आन्तरिक भ्रष्टाचारविरुद्धको कारबाहीलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्