Logo
Logo

संसद्को लोगो परिमार्जन गर्ने परामर्श समितिको निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

समिति बैठक : प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतबार सिंहदरबारमा बैठक । तस्वीर : रासस

काठमाडौं, ११ जेठ । संघीय संसदको लोगो (प्रतीक चिन्ह) र राष्ट्रियसभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीक परिवर्तन हुने भएको छ । आइतबार सिंहदरबारस्थित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि निर्णयमा भनिएको छ, ‘नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय भएको छ । साथै संघीय संसदका दुबै सदनमा माननीय सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने’ जनाइएको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ बमोजिम सांसदको पोशाक र संघीय सांसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले २०७७ जेठ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक मुस्लिम समुदायको महान पर्व इदुल फित्र परेकोका सूचना टाँसेर स्थगित हुने भएको छ । इदको अवसरमा सार्वजनिक बिदा घोषणा गरेकाले उक्त बैठक सूचना टाँस गरेर स्थगित गर्दै जेठ १३ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था समिति बैठकलेसमेत संघीय संसद्को लोगो र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्ने प्रतीक नेपालको वास्तविक सीमाअनुरुप नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले रोष्ट्रमा राखिएको लोगो र सांसदले लगाउँदै आएको प्रतीक परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।
सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्