Logo
Logo

वर्षाले माफी माग्दै भनिन्, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ जेठ । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले ‘हाईहाई’ पाइरहेका बेला नेपालमा अभिनेत्री वर्षा राउत भने विवादमा आएकी छन् । हालैमात्र नेपाल सरकारले लिम्पियाधुरासहितको नया“ राजनीतिक नक्साको सन्दर्भमा दिएका अभिव्यक्तिलाई लिएर वर्षा विवादित बनेकी हुन् ।
वर्षाले एक अन्तर्वार्ताको क्रममा राष्ट्र र राष्ट्रियताको विषयमा बोल्दै भारतीय आफ्नो फ्यानस“ग फेस गर्न गाह्रो भइरहेको बताएकी थिइन् । नेपाल–भारत सीमा विवाद चरम उत्कर्षका पुगेको बेला आएको वर्षाको यस्तो भनाइले उनी सामाजिक सञ्जालमा आलोचित बनेकी ह्न ।
बलिउडकी चर्चित अभिनेत्री मनिषाले नेपाल सरकारले जारी गरेको नक्साको सपोर्ट गर्दै ट्विट गरेपछि भारतमा विवादित बनेकी छन् भने नेपालमा वाहवाही पाइरहेकी छन् । सार्वजनिक भएको वर्षाले अन्तर्वाता भिडियोमा भनेकी थिइन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’ यही विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा उनी ट्रोल बनेकी छन् ।
आफ्नो अभिव्यक्तिले रातारात विवादित बनेपछि र्षाले माफी मागेकी छन् । ‘टेबुल टक गरेर समस्या समाधान गर्नुपर्नेमा नेपाल र भारतका मिडियाले विवाद बढाएको’ भनेर अभिव्यक्ति दिएको तर गलत अर्थ लागेको भन्दै उनले माफी मागेकी छन् । उनले आफ्नो फेसबुक एकाउन्टमा लामो स्टाटस लेख्दै माफी मागेकी हुन् ।
वर्षाले सुरुमै लेखेकी छन्, ‘सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।’ यो उनको सम्बोधन हो । त्यसपछि लेखेकी छन्, ‘कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु, त्यसैले सकेसम्म कुनैपनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि–तल परेकी छैन ।’
यी अभिनेत्रीले अगाडि लेखेकी छन्, ‘संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि नेपाली कलाकार भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अंगिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’ तर, अभिनेत्री वर्षाले अन्तर्वातामा बोल्दा नेपाली कलाकार भएर पत्रकारलाई दोष दिन खोजेकी छन् । उनको ती अभिव्यक्ति अहिले पनि यु–ट्युबमा हेर्न पाइन्छ ।
साथै, उनले आफूलाई विवादबाट छुटकारा पाउन आइतबार माफी मागेकी छन् । उनले माफी माग्दै अगाडि लेखेकी छन्, ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हु“दैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगाढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी–बेटी सम्बन्धको र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन्, जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरुबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’
जनताको गालीपछि वर्षा केही नरम बनेकी छन् । उनले आफू सीमा समस्याबारे आफूलेु सक्ने सहयोग गर्नेसम्म पुगेकी छन् । त्यही अभिव्यक्तिका कारण नेपाली दर्शकले उनलाई बहिस्कार गर्नेसम्मको आवाज उठाउन थालेका छन् भने हरेक फेसबुक र ट्विट युजर नेपालीले उनलाई गाली गरेका छन् । हुन पनि देश र माटोको विषय निकै गम्भीर कुरा हो । यस्तो राष्ट्रियताको विषयमा बोल्दा धेरै सोच्नुपर्ने हुन्छ । तैमाथि एक कलाकार, जो हरेक उनको भनाइलाई समाचार माध्यमले गसिप बनाइरहेका हुन्छन् ।
उनले फेसबुक अगाडि लेखेकी छन्, ‘नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु–भाइ दिदी–बहिनी हौ“ । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरेँ त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।’

प्रतिक्रिया दिनुहोस्