Logo
Logo

घट्यो बैंकको आधारदर


अशोकशरण अधिकारी


  • अशोकशरण अधिकारी

काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्षको अन्तिम त्रयमासमा आइपुग्दा २७ वटा वाणिज्य बैंकमध्ये २६ वटाको आधारदर (बेस रेट) घटेको छ । तर, राष्ट्रिय वाणिज्य बैंकको अघिल्लो त्रयमासको तुलनामा सामान्य बढ्दा पनि सबैभन्दा कम आधारदर कायम रहेको छ ।


बैंकले कर्जामा लिने र निक्षेपमा दिने ब्याजदर निर्धारणको प्रमुख आधार भएकाले पनि यसलाई आधारदर भनिएको हो । अब, आधारदर घटेका बैंकको कर्जाको ब्याजदर पनि स्वतः घट्नुपर्ने छ । बैंकहरूले निक्षेपमा दिने ब्याजदरमा यसअघि नै पुनरावलोकन गरिसकेका छन् ।
कोरोना र लकडाउनका कारण ब्याजदर घटे पनि बैंकहरूको कर्जा प्रवाह भने बढ्ने अवस्था देखिएको छैन । आधारदरको कारण बैंकमा जम्मा भएको निक्षेपमा दिइने ब्याजदर घट्ने भएकाले निक्षेप संकलन पनि कम हुने छ ।
अब, बैंकको मुद्दति खातामा रकम जम्मा गरेर ब्याजबाट गुजारा गर्ने ठूलो वर्ग समेत मर्कामा पर्ने छ । उनीहरूको दैनिकीको आधार नै ब्याज रकम भएकाले आधारदरको असर उनीहरूमा सोझै पर्नेछ ।
संस्थागत रूपमा बैंक तथा वित्तीय संस्थाहरूमा ठूलो रकम निक्षेपमा लगानी गर्नेहरूलाई पनि यसले असर पार्नेछ । नेपाल दूरसञ्चार, कर्मचारी सञ्चय कोष, दूरसञ्चार प्राधिकरण, सेना, प्रहरी, नागरिक लगानी कोष र नेपाल राष्ट्र बैंक ठूला संस्थागत निक्षेपकर्ताको ब्याज आम्दानी अब घट्ने छ । यसले उनीहरूको वासलातमा समेत असर पार्नेछ ।
आधारदर सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ भने सबैभन्दा बढी सिभिल बैंकको छ । राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकबीच आधारदरको अन्तर ४.२ प्रतिशत पुगेको छ । अब, राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गर्ने कर्जा सबैभन्दा सस्तो र सिभिल बैंकको सबैभन्दा महँगो हुनेछ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा प्रदान गर्ने ब्याज थोरै हुन्छ भने सिभिलले प्रदान गर्ने ब्याज तुलनात्मक रूपमा बढी हुन्छ । तर, निक्षेप जम्मा गर्नेले आफ्नो रकमको सुरक्षाको निम्ति बैंकको वित्तिय अवस्था र विश्वसनीयतालाई ध्यान दिने भएकाले ब्याज धेरै आउने आशमा साँवाको जोखिम मोल्न चाहँदैनन् ।
आधारदर कम हुने बैंकहरूमा वाणिज्यपछि क्रमशः स्टाण्डर्ड चार्टर्ड, नेपाल बैंक, नबिल, एभरेष्ट रहेका छन् । नेपाल इन्भेष्टमेण्ट, हिमालयन, प्रभु, सानिमा, बैंक अफ काठमाण्डू र ग्लोबल त्यसपछि क्रमशः आधारदर कम भएका बैंक बनेका छन् ।

अधिक आधारदर रहेको पछिल्ला पाँचवटा बैंकमा सिभिलपछि क्रमशः कुमारी, एनसीसी, सेञ्चुरी र सनराईज रहेका छन् । अब कोरोना र लकडाउनका कारण उत्पन्न भएको विषम परिस्थितिले सबैभन्दा पहिले यी बैंकका आगामी दिन निकै चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्