Logo
Logo

पाल्पामा कोरोना किट अभाव


- दृष्टि न्युज/संवाददाता


तानसेन, १४ जेठ । पाल्पामा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक वृद्धिसँगै कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ ।
पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन सकेको छैन । पछिल्लो तीन दिनमा करीब ४५० नागरिक पाल्पा भित्रिएकामा आइतबार आरडिटी तथा पिसिआरका लागि स्वाब संकलन गरिएको तर सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणका लागि गम्भीरता नदेखाएको भट्टराईको गुनासो छ ।
उनले भने, ‘परीक्षण नगरी स्थानीय तहको जिम्मा लगाउन बाध्य छौँ, जिल्लामा भयावह अवस्था आउँछ कि भन्ने चिन्ता छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ भट्टराईले जिल्लामा आएका नागरिकको परीक्षण गर्न किट अभाव रहेको स्वीकारे । उनका अनुसार अहिलेसम्म जिल्लामा आरडिटीका लागि एक हजार र पिसिआरका निम्ति साढे चार सयको हाराहारीमा किट रहेकामा अब आकस्मिक जाँचका लागि बाहेक पर्याप्त छैन ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यज्ञेश्वर पन्थीका अनुसार गत चैतदेखि अहिलेसम्म जिल्लामा आएका करीब ६०० जनामध्ये ५५१ जनाको आरडिटी तथा ७९ जनाको पिसिआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको छ । अब १७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।
रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर तथा नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पालीको उद्धार गरी जिल्लामा ल्याएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
पाल्पा आएका नागरिकलाई तानसेनमा स्थापित क्वारेन्टाइनमा राख्ने, आरडिटी र पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिए आइसोलेशनमा पठाउने र नेगेटिभ देखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने व्यवस्था गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक मीरा मरासिनीले जानकारी दिए ।
स्थानीय तहमा लगेपछि पुनः १४ दिन क्वारेन्टाइनमा राख्ने तथा आरडिटी गरेर एक हप्ता होम क्वारेन्टिनमा बस्ने गरी पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण समिति पाल्पाको मङ्गलबार साँझ बसेको बैठकले प्रदेश र संघीय सरकारसँग किट माग गर्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्