Logo
Logo

डिएसपीको पदस्थापन र सरुवाको तयारी


- दृष्टि न्युज/संवाददाता


कठमाडौं, १४ जेठ ।
मंगलबार बढुवा भएका ६० जना डिएसपीलाई प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिभएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात सांगठनिक जिम्मेवारी थपिएकोल ेप्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिए ।


व्यक्ति भन्दा संगठनलाई बलियो बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने उल्लेख गर्दै राज्यले सुम्पेको दायित्व र भूमिका तथा नागरिक केन्द्रित सेवा प्रवाह गर्न निष्ठापूर्वक एवं उच्च मनोबलका साथ दायित्व बोध गर्नुपर्नेसम्बन्धमा प्रहरी महानिरीक्षक ज्ञवालीलेप्रहरी कर्मचारीलाई निर्देशन दिए । क्षणिक स्वार्थलाई त्याग्दै राष्ट्र र नागरिकको सेवामा समर्पित भएर पूर्ण नैतिकवान भई काम गर्दै संगठनको गरिमा अझै माथि उठाउन एकताबद्ध भई टिमवर्कमा लाग्नुपर्ने उनको जोड थियो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै व्यवसायिक कार्यदक्षता, इमान्दारिता, सेवाभाव तथा कार्यसम्पादनको स्तरलाई आधार मानेर प्रहरी कार्मचारीहरुको मूल्याङ्कन हुने उल्लेख गरे । पदोन्नतिसँगै थपिएको जिम्मेवारी पूरा गर्न बद्लिदो परिस्थितिलाई मध्यनजर राखी व्यवसायिकता प्रदर्शन गर्दै आफ्नो काममा खरो उत्रनुपर्नेमा उनले जोड दिए ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड(१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएका प्रहरी कर्मचारीहरुले आफ्नो व्यक्तिगत सुरक्षाको उपायहरु अबलम्बन गरी थप संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने प्रहरी महानिरीक्षक ज्ञवालीले बताए ।
बढुवा भएका डिएसपीको पदस्थापन भने भएको छैन । डिएसपीको सरुवा र पदस्थापनको तयारी प्रहरी प्रधान कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्