Logo
Logo

हितेशको हर्कतले उद्योगमा लफडा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाका कारण मन्त्रालयमा तनाव उत्पन्न भएको छ ।
स्वकीय सचिव ओझाले टर्चर दिएपछि अर्का स्वकीय अधिकृत दिनेशकुमार शाह चार महिनादेखि मन्त्रालय आएका छैनन् । मन्त्री भट्ट बस्ने अफिस कोठासँगै जोडिएको पुर्व तर्फको कोठाको बाहिर स्वकीय अधिकृत दिनेश शाह लेखिएको नेमप्लेट झुण्ड्याइएको त छ तर त्यो कोठामा चार महिनादेखि कुर्सी खाली छ ।
स्वकीय सचिव ओझासँग कुरा नमिल्दा शाह मन्त्रालय आउन छाडेको मन्त्रालयका एकजना अधिकृतले बताए । शाहले मन्त्रालय आउन छाड्दा मन्त्रीको सचिवालय हितेश ओझाको एकल निर्णयले मात्र चलिरहेको छ । मन्त्री भट्टले पटक पटक सचिवालय बिस्तार गर्ने चाहना राख्दा ओझाले अवरोध गर्दै आएको मन्त्रालयकै कर्मचारी बताउँछन ।
स्वकिय सचिव ओझा मन्त्री भट्टका सहोदर मामाका छोरा हुन् । ओझा मन्त्रीसँगै निवासमा बस्ने हुँदा मन्त्री भट्टलाई उनले आफ्नो वशमा पार्दै आएको बताइन्छ । ओझालाई मन्त्रीपत्नीको दह्रो साथ रहेको कैलालीमा चर्चा छ । भट्ट दम्पती निःसन्तान हुन् । नाताले देवर पर्ने ओझालाई पछिल्लो समयमा मन्त्रीपत्नीले छोराको जस्तो व्यवहार गर्ने भएकाले मन्त्री भट्टमाथि ओझाको दबाब बढी नै कसिलो बन्दै गएको छ ।
उसो त स्वकीय अधिकृतका रुपमा नियुक्त दिनेशकुमार शाहलाई पनि मन्त्री दम्पतीले छोरा जस्तै गरी माया गर्दै आएका थिए । शाहले २०६३ सालदेखि भट्ट दम्पतीको सेवा गर्दै आएका थिए । भट्टको गाडीको ड्राइभरदेखि सम्पूर्ण घरेलु काममा समेत शाहले सघाउँदै आएका थिए । जब २०७६ मंसिर ५ गते भट्ट मन्त्री भए त्यसलगत्तै हितेश ओझाको इन्ट्री भएको देखिन्छ । ओझा स्वकीय सचिव बन्ने कुनै सम्भावना थिएन । मन्त्रीपत्नीको कचकच पछि बाध्य भएर भट्टले ओझालाई स्वकीय सचिवमा नियुक्त गरेको भट्ट पारिवारिक श्रोत बताउँछ ।
भट्ट निर्वाचित नेकपा क्षेत्रीय कमिटीले बलबहादुर महता ‘अनुप’ लाई स्वकीय सचिव बनाउने निर्णय गरेको थियो । महता २०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर ४ को संयोजक थिए । उनकै नेतृत्वमा लेखराज भट्टको चुनावी अभियान चलेको थियो । त्यहीबेला नै यदी भट्ट मन्त्री बनेमा स्वकीय सचिव महतालाई बनाउने पार्टीले निर्णय गरेको थियो । उक्त निर्णय अनुसार भट्ट मन्त्री भएकै दिन महता काठमाडौं आए तर भट्टले उक्त निर्णयको पालना नगरी आफ्नो मामाको छोरा हितेसलाई स्वकीय सचिवमा नियुक्त गरे ।
महता मन्त्री भट्टका जनयुद्दकालिन सारथी हुन् । भूमिगत कालमा जनमुक्ति सेनामा रहँदा दिनरात भट्टसँगै हिँडेका महता स्वकीय सचिवमा नियुक्त नपाएपछि निरास हुँदै कैलाली फर्के । स्वकीय सचिवमा हितेशको नियुक्तिलाई लिएर मन्त्री भट्टको निर्वाचन क्षेत्र कैलाली ४ मा नेकपाका कार्यकर्ताहरुमा व्यापक असन्तृष्टि रहेको कैलालीका एकजना कार्यकर्ता बताउँछन् ।
२०७४ को चुनावअघि हितेश ओझाको पुरै परिवार नै कांग्रेस पृष्ठभूमिको हो । २०४८, २०६४ र २०७० सालमा चुनाव लड्दा मावली भएपनि ओझा परिवारले भट्टको कहिल्यै साथ नदिएको भट्टकै गाउँले बताउँछन । २०७० सालको चुनावमा त स्वयंम हितेश भट्टको विरुद्धमा नेपाली कांग्रेसका उम्मेद्वारलाई विजय गराउन सक्रिय भएको नेकपाका स्थानिय कार्यकर्ता बताउँछन । ०७० को चुनाव हारेपछि भट्ट परिवारको ओझा परिवारसँग बोलचाल नै बन्द भएको चर्चा अत्तरियामा थियो । भट्ट राजकीय शक्तिमा सशक्त भएर आउन थालेपछि अवसर छोप्न ओझा परिवार भट्ट परिवारसँग निकट भएको बताइन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ७ महाशाखामा २४ शाखा, ५ विभाग, ४ आयोजना र ३ कार्यक्रमहरुमा करिब २ सय कर्मचारी दरबन्दी रहेको छ । तर भट्ट मन्त्री हुनुभएको ७ महिनासम्म पनि सचिवालय विस्तार हुन नसक्नुमा स्वकीय सचिव ओझाकै षडयन्त्र भएको मन्त्रालयकै कर्मचारी बताउन थालेका छन । सचिवालयले पूर्णता नपाउँदा पार्टीका नेता तथा कार्यकर्ता, कर्मचारी र मन्त्रालयसंग सरोकार राख्ने उद्योगी व्यवसायीहरुले समेत मन्त्रीसँग सम्पर्क र समन्वय गर्न नपाएको गुनासो गरिरहेको मन्त्रालय श्रोत बताउँछ ।
बर्षौदेखि मन्त्री भट्टलाई साथ दिँदै आएका जिल्लाका नेता कार्यकर्तालाई समेत स्वकीय सचिव ओझाले भट्टको निकट पर्न नदिने गरेको भट्टको निर्वाचन क्षेत्रका एकजना कार्यकर्ताले गुनासो गरे । ओझाले मन्त्री र उनकी पत्नीको सोझोपनको गलत ढंगले फाइदा उठाउदै भट्टका पतिपत्नीलाई अलमलमा पार्दै आएको ती कार्यकर्ताले बताए । ओझा गैरराजनीतिक पृष्ठभूमीका हुन । २०७४ सालसम्म उनी कैलालीको अत्तरियामा शिक्षण पेशामा थिए । एकाएक मन्त्री भट्टको स्वकीय सचिवमा नियुक्त भइसकेपछि उनी पदको दुरुपयोग गर्दै कमाउधन्दामा लागेको पनि मन्त्रालयका कर्मचारी बताउँछन ।
अरु मन्त्रालयको तुलनामा एकदमै महत्वपूर्ण र चलायमान रहनु पर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लेखराज भट्ट मन्त्री भइसकेपछि त्यस्तो केही नयाँ प्रगति देखिएको छैन । कार्यप्रगतिका हिसावले यस अघिका मन्त्री मातृका यादवको भन्दा अवस्था झन खराब भइरहेको मन्त्रालयका कर्मचारी बताउँछन ।
मातृकालाई पनि उनैका स्वकीय सचिव सन्तोष विष्टले असफल बनाएको चर्चा ब्यापक थियो । स्वकीय सचिवहरुका लागि उद्योगी, व्यापारीका स–साना काम गरिदिएवापत राम्रो कमाई हुने मन्त्रालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पर्दछ । करोडौँ रुपैया घुस र कमिसन असुलेको समाचारहरु सञ्चार माध्यममा आएपछि तत्कालीन मन्त्री मातृका यादवले बदनामीबाट जोगिन सन्तोष विष्टलाई स्वकीय सचिवबाट हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्