Logo
Logo

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ । सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार संघीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७ र ०७८ का लागि बजेट प्रस्तुत गर्दै अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायमा सबै रिक्त दरवन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने जनाएका हुन् ।
यस्तै सरकारले कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत राष्ट्रसेवकबाहेक अरु कर्मचारी सबैका भत्ता कटौती गरेको छ । बजेट भाषणमा तीबाहेक अरुलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्तालगायत सबै प्रकारका अन्य भत्ता आउने साउन १ गतेदेखि खारेज गरेको मन्त्री डा खतिवडाले जानकारी दिएका छन् ।
सार्वजनिक संस्थान, विश्वविद्यालय, समिति, बोर्ड, प्रतिष्ठान, कोषलगायत सार्वजनिक निकायमा समेत लागू हुने गरी मितव्ययीतासम्बन्धी निर्दे्शिका जारी गरिने बजेटमा उल्लेख गरिएको छ ।
यस्तै कार्यलय सञ्चालन, इन्धन, मर्मत, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार, परामर्श, सहायता, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा मर्मत खर्चमा उल्लेख्य बजेट कटौती गरिएको उनले जानकारी दिए ।
यस्तै आधारभूत सेवा प्रदान गर्ने सार्वजनिक निकायबाहेक कसैलाई पनि सञ्चालन अनुदान नदिने तथा संघ, प्रदेश र स्थानीय तहमध्ये कुनै एक तहबाट अनुदान प्राप्त व्यक्ति वा संस्थालाई अर्को तहबाट थप अनुदान दिन नपाउनेसमेत व्यवस्था बजेटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्