Logo
Logo

हेयर डिजाइनर जुरी : जो कलाकारका कपाल काटेर सेलिब्रेटी बने…!


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ । पेसा जस्तै नाम र नामजस्तै काम । करिब १९ वर्षयता निरन्तर ‘हेयर कटिङ’ गर्दै आएका जुरी ठाकुर सर्वसाधारणदेखि सेलिब्रेटीसम्म ‘हेयर डिजाइनर’का रुपमा चर्चित छन् । कलाकार र पत्रकारले यदि कसैलाई ‘हेयर डिजाइनर’मा ‘जुरी अवार्ड’ सुम्पन्ने जिम्मेजारी पाए उनैलाई दिन्छन्, किनकि उनले नेपालमा अधिकांश कलाकार र पत्रकारलाई चिटिक्क बनाएका छन् ।
‘कपाल काट्न थालेको ठ्याक्कै १९ वर्ष भयो’ लकडाउनको ६५औँ दिन बिहीबार नयाँ बानेश्वरको ठूलो खरिबाटस्थित उनको ‘जुरी युनिसेक्स पार्लर’ पुग्दा भने, ‘मेरो लागि ग्राहक नै भगवान हुन् । त्यसैले यो लकडाउनमा पनि सेवा दिइरहेको छु ।’ उनले कोरोनाभाइरससँग बच्न सरकारले अपनाएको सुरक्षा मापदण्डको पालना गर्दै ग्राहकलाई सेवा दिने गरेको बताए ।


हुन त जुरीको हेयर कटिङ पेसा पुर्खौली हो । तर, त्यही पुर्खौली पेसाले ‘सेलिब्रेटी’ बनेका छन् उनी । ‘हेयर डिजाइनर’ जुरीले सेलिब्रेटी तथा ग्राहकवर्गलाई जसरी भगवान ठान्छन्, त्यसैगरी ग्राहक र सेलिब्रेटी उनलाई सम्मान गर्छन् । ‘म कहाँ आउँने ग्राहकलाई खुसी बनाउनु नै मेरो खुसी हो’, उनले भने, ‘अहिलेसम्म खुसी नै छु ।’


मान्छेको अनुहार, वर्ण र साइज हेरेर ‘हेयर डिजाइनिङ’ गर्नुको जुरीको मुख्य विशेषता हो । मानिसको बाहिरी व्यक्तित्वमध्ये ‘हेयर कट’ पनि हो । यसबारे जुरी जानकार छन् । कलाकार, पत्रकार, अफिसियल वा जेन्टलम्यान जस्तो व्यक्तित्व हो, त्यहीअनुरुप हेयर डिजाइनर गर्छन् उनी । त्यसैले एकपटक उनीकहाँ कपाल काटेपछि ग्राहक अन्त मोडिदैनन् । १९ वर्षदेखि एकैथलोबाट सेवा दिन सफल हुनको कारण पनि त्यही हो । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन जारी गरेको दुई महिनाभन्दा बढी भइसकेको छ । यस्तो बेलामा समेत उनलाई दैनिक दजैनौँ फोन आउने गरेको छ । तर, उनी अत्यावश्यक र अवस्था हेरेरमात्र सेवा दिन्छन् ।
कुनै समय उनी अभिनेता राजेश हमालको ‘पर्सल हेयर डिजाइनर’का रुपमा चर्चित थिए । तर, अहिले उनले आम कलाकार र पत्रकारको हेयर डिजाइनरका रुपमा ख्याती कमाएका छन् । उनी कपाल काटेको रेट तोक्दैनन् । तर, ग्राहक खुसी भएर रेट भन्दा धेरै दिएर जान्छन् ।


जुरी भन्छन्, ‘मलाई कलाकारको कपाल काट्न एकदमै रमाइलो लाग्छ । उहाँहरुलाई कपाल काट्ने सेवा दिनु न भन्ने गर्छु । एकपटक कपाल काटेपछि उहाँहरुले मलाई सम्झिनुहुन्छ । धेरैजसो उहाँहरुकै घरमा गएर काटिदिने गरेको छु । कपाल काटेको म पैसा माग्दिनँ, तर उहाँहरुले खुसी भएर सोचेभन्दा बढी दिन्छन् ।’
महोत्तरी, एकडाँडा–५ बहेराका जुरीले सुरुमा आफ्नो बाबुको पेसा अँगाल्दा निकै दुःख पाएको सुनाए । उनी आफ्नो विगतमा फर्किएर भने, यहाँसम्म आइपुग्न कतिसम्म दुःख र मिहिनेत गरियो भन्ने मलाई मात्र थाहा छ । अहिले त्यो दुःख सुनाएँ भने तपाइँ नै पत्याउन हुन्न ।’
तर, अहिले त्यस्तो अवस्था छैन । उनी एक सफल हेयर डिजाइनमात्र नभएर एक रोजगारदाता समेत बनेका छन् । उनको पार्लरमा हाल ७ जनालाई रोजगारी दिएका छन् । साथै, उनले काम सिकाएकाहरु कतार, दुवई, साउदी अरब र इराकसम्म ‘हेयर डिजाइन’कै रुपमा पुगेका छन् ।
विदेशमा रहेका आफ्ना चेलाहरुको नाम लिस्ट नै उनले टिपाए । उनले सुजित ठाकुर, रामपुकार ठाकुर, अमित ठाकुर, अजय ठाकुर, राकेश ठाकुर, जगदिश ठाकुर, ललित ठाकुर, शुभकरण ठाकुर, जयप्रकाश ठाकुर र जीवन ठाकुरको नाम लिए । उनका अनुसार उनीहरु अहिले विभिन्न देशमा हेयर डिजाइनरका रुपमा कार्यरत छन् । केही भने फर्केर उनकै पार्लरमा काम गर्दैछन् ।
जुरी युनिसेक्स पार्लरको विशेषता भनेको हेयर कटिङ, हेयर स्टेट, कलरिङ, फेसवास, लाइलाइट्स आदी हुन् । र, अर्को विशेषता भनेको मुस्कानसहितको सेवा हो । जसले आज जुरी सेलिब्रेटीमाझ आफैँ सेलिब्रेटी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्