
बाँके, १९ जेठ । बाँकेको राप्तीसोनारी–२ मा यात्रुवाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको बस दुर्घटना भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिएका छन् ।
नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ ।
मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज उपचार भइरहेको छ । गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ । ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।











