Logo
Logo

लकडाउनमा क्रिस्टल डिष्टिलरीको मदिरा व्यापार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ जेठ । लकडाउनमा पास नपाएर तरकारी बारीमै कुहिएका, दूध नालीमा पोखिएका समाचारहरु सार्वजनिक भइरहँदा रुपन्देहीमा भने प्रहरी प्रशासनको मिलोमतोमा मदिराका गाडी बिना चेकजाँच निर्वाध चलिरहेका छन् ।
अनुमति लिएका खाद्यान्नको सामग्री बोक्ने सवारी साधनले सडकमा आवतजावत गर्न प्रहरीको चेकजाचको नाममा घन्टौ लाइनमा बस्न बाध्य हुँदा मदिराका गाडीलाई कुनै चेक हुँदैन ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत्र ११ गतेदेखि लागु गरेको लकडाउनको कारण अत्यावश्यक बस्तु ओसार पसार गर्ने सामग्री मात्रै जिल्ला प्रशासन कार्यलयको अनुमति लिएर आवतजावत गर्ने व्यवस्था गरेको हो । तर रुपन्देही सदरमुकाम भैरहवामा मदिरा जन्य पदार्थ बोकेका सवारी साधनहरु बिनारोक तोक हिडेका छन् ।
लु १ क ११३४, लु १ क ९३८, लु १ क २४५३ नम्बरको मिनिट्रक, लु १ च ७४३३, लु १ च ३२१०, लु १ च १०७५ नम्बरको बोलेरो रातो नम्बर प्लेटको जिप, लु १ ज ४३३६ नम्बरको कालोप्लेटको जीप, लु २ च ७५८८ नम्बरको नीजि कारले लकडाउनको अवधिमा पनि निर्वाध रुपमा मदिराजन्य पदार्थ नियमित रुपमा ओसार पसार गरेका हुन् । ती सवारी साधनले क्रिस्टल डिस्टीलरी मधविलयाबाट उत्पादीत विभिन्न ब्रान्डका मदिरा ओसारपसार गरेका छन् । क्रिस्टल डिष्टिलरीले लकडाउन अवधिमा रुपन्देहीका दक्षिणी भेग तथा कपिलवस्तु र नवलपरासीका रुपन्देहीसँग जोडिएका क्षेत्रहरुमा झण्डै १२ करोडको मदिरा बिक्री गरिसकेको छ ।
डिस्टीलरीको उत्पादीत सामग्री ओसार पसारको लागि कुनै पनि डिस्टीलरीलाई सवारी अपास प्राप्त नभएको उत्पादक संघले मदिरा उत्पादक संघ रुपन्देहीका महासचिव राजु गुरुङ बताउँछन् । क्रिस्टलले निर्वाध मदिरा बेचिरहेकोमा उनी आफै छक्क छन् । भन्छन्, ‘हुन त कर तिरेको मदिरा हो, तर हामीले पास पाएनाँैं, क्रिस्टलले खै कसरी बजारमा पठाइरहेको छ कुन्नी ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेब पन्थले मदिरा बोक्ने कुनै पनि सवारी साधनलाई पास नदिएको बताउँछन् । ‘मदिराजन्य पदार्थ ओसार पसारकोलागि कसैलाई पनि अनुमति दिइएको छैन । यदि भएको छ भने त्यो गैरकानूनी हो । कानून अनुसार कारबाही हुन्छ’, प्रजिअ पन्थ भन्छन् । यद्यपि, उनले नजिकका मान्छेहरुसँग भने क्रिस्टल डिष्टिलरीका संचालकले आफूलाई बदनाम गरेको गुनासो गर्ने गरेका छन् । श्रोतका अनुसार काँग्रेस सांसद प्रमोदकुमार यादवले लकडाउनका समयमा क्रिस्टल डिष्टिलरीका संचालक फूलसिंह क्षेत्रीलाई लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । संघीय संसदका सांसदले भेट्न खोज्दा उनले नाई भन्न सकेनन् । भेटमा सांसदले क्रिस्टलका मदिरालाई गोदाममा लैजान पासको ब्यवस्था गरिदिन माग गरेका थिए । प्रजिअ पन्थले सांसदलाई आफूले सल्लाह गरेर मिल्ने भए जानकारी गराउँछु भने । तर, प्रजिअ कार्यालयबाट निस्किनासाथ क्रिष्टलका मदिरा ओसारपसार शुरु भयो । प्रहरीले मदिरा ओसार पसारमा सघाएको प्रजिअ पन्थलाई सूचनै आएन ।
रुपन्देहीका मदिरा उत्पादकहरु सबै जना मिलेर सवारी पास अनुमतिकोलागि जिल्ला प्रशासन कार्यलय गएको भएता पनि कोरोना संकटको बेला मदिराजन्य पदार्थ ओसारपसारकोलागि अनुमति नदिने बताईएपछि उनीहरु फर्किएका थिए । मदिरा उत्पाादकहरु सामूहिक रुपमा जादा अनुमति नदिएपछि क्रिस्टल डिस्टीलरीले भने त्यसपछि चलखेल गरेर काम गरेको अन्य व्यवसायीले आरोप लगाएका छन् । ‘प्रहरीलाई मिलाएपछि कसले रोक्ने ?’ ब्यवसायीको गुनासो छ ।
उक्त कार्यमा रुपन्देही प्रहरीको मिलोमतो देखिएको छ । तरकारी र खाद्यान्नको गाडीहरु घन्टौ लाईनमा राखेर सवारी अनुमतिपत्र हेर्ने प्रहरीले क्रिस्टलका मदिरालाई भने निर्वाध चल्न दिनुमा रुपन्देही प्रहरीको संलग्नता पुष्टि हुन्छ । क्रिस्टल संचालक क्षेत्रीले नजिकका मान्छेहरुसँग जिल्ला प्रहरी प्रमुख हेमबहादुर थापालाई ६ लाख रुपैयाँमा सेटिङ मिलाएको जानकारी दिँदै आएका छन् । ६ लाख दिएपछि उनले करिब एक महिनाभन्दा अघिदेखि मदिरा सप्लाई गर्दै आएका थिए । यसै क्रममा मदिरा बेचेको पैसा ५० लाख रुपैयाँसहित लुम्बिनीबाट क्रिस्टलका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । तर, एसपी थापाकै निर्देशनमा एक रात राखेर भोलिपल्टै बिहान संचालक क्षेत्रीलाई जिम्मा लगाइएको थियो । प्रहरी संलग्नताको बिषयमा रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्क खत्रीले मदिरा ओसारपसार गरेको सवारीको सूचना आएको तर प्रहरी संलग्नता सत्य नभएको बताए । डिस्टीलरीका सन्चालक फुलसिंह क्षेत्रीले भने आफुले कानून अनुसार नै काम गरेको दाबी गरेका छन् । उनले भने, ‘मैले सबै कानूनि प्रक्रिया पुरा गरेर काम गरेको छु, भन्नेले जे जे भनुन् ।’

प्रतिक्रिया दिनुहोस्