Logo
Logo

नेपालमा यो साता १११६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७९८ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ जेठ । नेपालमा यो साता कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढेको छ । यो साता मात्र नेपालमा १ हजार ११६ कोरोना संक्रमित थपिएका छन् । त्यसमा सोमबार सबैभन्दा बढी २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । सोमबार थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ । धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।
कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उनले बताए । देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ । यस्तै अहिलेसम्म नेपालमा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कर्णालीमा ७५ नयाँ संक्रमण
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त प्रदेशमा सोमवार बिहान मात्रै ७५ नयाँ संक्रमण पुष्टि भएको छ । त्यहाँ कोभिड–१९ का कुल बिरामी संख्या १९८ पुगेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाएका छन् ।

सोमबार बिहान पुष्टि भएका मध्ये ३२ जनाको सुर्खेतमा र ४३ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा परीक्षण गरिएको मन्त्रालयले बताएको छ । तीमध्ये एक दुई वर्षीय बालिकसहित तीनजना बालक रहेका छन् । ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्