Logo
Logo

ठूला व्यापारीमा जुवाको लत, सम्पत्ति छानबिन होला ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ जेठ
चाडपर्वको बेला हरेक वर्ष ठूला व्यापारी र ठेकदारहरु जुवा खालबाट पक्राउ पर्छन् । चाडपर्वको बेला जुवा खेल्नुलाई कतिपयले सामान्य पनि मान्छन् । तर, अहिलेको संकटको बेलामा पनि कतिपय व्यापारीहरु दैनिक जुवा खेल्ने गरेको सोमबार कमलादीको एक होटलबाट केही प्रतिष्ठित सहित नौ व्यापारी पक्राउ परेपछि प्रष्ट भएको छ । यसले केही ठूला व्यापारीकै जुवाको लतमै रहेको देखाउने प्रहरी अधिकृतहरु बताउँछन् ।


गंगौर रिजेन्सी होटलबाट प्रहरीले होटल सञ्चालक निक्की जोगाईसहित एनआईसी बैंकका सञ्चालक रामचन्द्र संघाई, बिशाल ग्रुप तथा एलआईसी नेपालका सञ्चालक अशोक कुमार अग्रवाल लगायतलाई पक्राउ गरेको हो । अग्रवाल नेपालका लागि गिनीका अवैतानिक वाणिज्यजूत समेत हुन् । ज्योती लाइफ इन्स्योरेन्सका अध्यक्ष नन्द किशोर शर्मा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । अन्य व्यापारीहरु विमल खेतान, पुरुषोत्तम अग्रवा, विमल अउजा, गोविन्दराम सरिया, सुरेश कुमार अग्रवाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्यालयको जाने बहानामा घरबाट निस्कने र उनीहरु नियमित रुपमा होटलमा भेला भएर जुवा खेल्दै आएका थिए । दरबारमार्ग वृत्तका डिएसपी रञ्जन दाहाल भन्छन्जुवाखालबाट क्वाइन समेत बरामद हुनुले उनीहरु पेशेवर रुपमा नै जुवा खेल्ने देखिन्छ । उनीहरु लकडाउनको बेला उनीहरु नियमित जसो होटलमा जम्मा भएर जुवा खेल्दथे । उनीहरुमध्ये धेरै जसोमा जुवाको लत नै रहेको अनुसन्धानमा आबद्ध एक व्यापारीले बताए ।

उनीहरुबाट एक सय ७९ वटा क्वाइन बरामद भएको छ । लेनदेनको हिसाब उनीहरुले अनलाइन बैंकिङबाछ गर्दै आएको समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

प्रभावशाली व्यापारी भएकाले उनीहरुले मन्त्रीदेखि सत्तारुढ दलका उच्च व्यक्तिमाथि दबाब दिएर हाजीरी जमानीमा छाड्ने प्रयास गरेका थिए । तर, प्रहरीले नमानेको स्रोत बताउँछ ।

ठूूला व्यापारीका गोप्य मिनि क्यासिनो
यसअघि गत ९ कात्तिकमा महाराजगञ्जस्थित ठेकदारको बिक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा व्यापारीहरु श्रवण गोयल, पवित्रकुमार कार्की, सुमन अग्रवाल, सोहेल कार्की, इन्द्र श्रेष्ठ लगायत पक्राउ परेका थिए । उनीहरुमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत छानबिन गरिरहेको छ ।

काठमाडौंमा लामो समय काम गरेका एक प्रहरीको अनुभवमा प्राय गलत बाटोबाट धेरै सम्पत्ति जोडेका व्यापारीहरुमा जुवाको लत देखिन्छ । ‘मेहनत गरेर कमाउने र इमान्दारीताका साथ कर तिर्नेहरु यतातिर लाग्दैनन्,’ ती प्रहरी भन्छन्,‘राज्यलाई नै मारेर कमाउने व्यापारी र रातारात सम्पत्ति कमाएकाहरुमा जुवाको लत देखिन्छ ।’ हुन्डीको कारोबारी तथा जग्गा कारोबारबाट छाटो समयमै धेरै पैसा कमाएकाहरु समेत नियमित जुवा खेल्ने समूहमा छन् । कतिपय व्यापारी जुवाकै लतका कारण कंगाल समेत भएका छन् । कतिपय कलाकार तथा केही नेताहरु समेत नियमित मिनि क्यासिनो धाउनेमा पर्दछन् ।

क्यासिनोमा नेपालीलाई प्रवेशमा केही वर्षयता पूर्ण रुपमा बन्देज लगाइएको छ । यस्तो अवस्थामा विभिन्न होटलमा तथा घरहरु भाडामा लिएर मिनि क्यासिनो शैलीमा जुवा खेलाइने गरेको छ । त्यसमा धेरै जसो व्यापारी र ठेकदार नै हुने गरेको छ । नियमित रुपमा जुवा खेल्ने दर्जनौं समूह राजधानीमा रहेको स्रोत बताउँछ । ‘खेलकुदमा सट्टाबाजीमा पनि यही समूह सक्रिय छ,’ ती प्रहरी अधिकारी भन्छन्,‘कहिलेकाही विवाद हुँदा मात्र सुराकी आउने भएकाले यस्तो पत्ता लगाउन कठिन छ ।’

जुवा सम्बन्धि कानून कमजोर भएकाले पनि यससम्बन्धि अपराध नियन्त्रणमा समस्या भएको प्हरी अधिकारीहरु बताउँछन् । जुवामा पक्राउ परेकाहरु सामान्य जरिवानामै सिडिओ कार्यालयबाट छुट्ने गरेका छन् ।

मुलुकी अपराध संहिताको दफा १२५ अनुसार जुवा खेल्नेलाई पहिलोपटक तीन महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

दोस्रो पटक जुवा खेल्नेलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना तथा त्यसपछि पक्राउ पर्दा पटकै पिच्छे थप तीन महिना र १० हजार जरिवाना थप हुन्छ । जुवामा बरामद भएको सम्पत्ति जफत हुने प्रावधान छ ।
महाराजगञ्जमा जुवाडे पक्राउ पर्दा उनीहरुको सम्पत्ति समेत छानबिन भएको थियो । अहिले पक्राउ परेकाहरु पहिलेका भन्दा धनी व्यापारीहरु छन् । तर उनीहरुको सम्पत्ति छानबिन नगर्न दबाब परेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्