Logo
Logo

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट


- दृष्टि न्युज/संवाददाता


डोटी, २१ जेठ । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।
गाउँको बाटो हिँड्नेक्रममा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उहाँलाई गालीगलौज गर्दै ढुंगामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ ।
स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते स्वास्थ्यकर्मी कुँवरको आरोप छ । आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । पक्राउ पर्नेमा शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन् ।
स्थानीयवासीको कुटपिट तथा आक्रमणबाट गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आक्रमण गरेका थिए । स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई पक्राउ गरी ल्याएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले बताए । ‘स्वास्थ्यकर्मी कुँवरमाथि कुटपिटमा संलग्नलाई पक्राउ गरेका छौँ, आवश्यक कानूनी कारवाही अगाडि बढाउने छौँ’ उनले भने ।
कोभिड–१९ जस्तो महामारी रोगको नियन्त्रणका लागि आफ्नो ज्यानको परवाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको यहाँका स्वास्थ्यकर्मीले विरोध गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ डोटीले मंगलबार विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल कानूनी कारवाही गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्