Logo
Logo

काठमाडौंसहित विभिन्न ठाउँमा लकडाउनको अवज्ञा बढ्दै, प्रधानमन्त्री ओलीले थाले परामर्श


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ जेठ ।
लकडाउनको अवज्ञा बढ्दै जान थालेपछि सरकारले स्वरुप परिवर्तनको तयारी थालेको छ । केही दिनपछि नै थप व्यवसाय सञ्चालन गर्न दिने तयारी सरकारको छ ।
बुधबारदेखि नेपालमा लकडाउनको छैंठौं चरण सुरु भएको छ । अझै कति महिना लकडाउन लम्बिने हो अन्योलता भएपछि अब सुरक्षा प्रोटोकल अपनाएर आर्थिक क्षेत्रलाई अघि बढाउन व्यवसायीको माग छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तथा यसले पारेको प्रभावबारे छलफल गर्न विज्ञ समूहलाई बोलाएका छन्। छलफलका लागि आज दिउँसो ४ बजे स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बालुवाटार बोलाइएका हुन्। लकडाउनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
छलफलमा स्वर्णिम वाग्ले, डा भगवान् कोइराला, डा. लोचन कार्की लगायतको समूहलाई डाकिएको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तनको तयारी गरिरहेको छ। मोडालिटीको जिम्मेवारी मन्त्रिपरिषद्ले कोभिड(१९ उच्चस्तरीय समन्वय समितिलाई दिएको छ।

उच्च स्तरीय समितिले मङ्गलवार उद्योग व्यवसायी र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको थियो। उद्योगीहरुले एरिया छुट्टाएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने सुझाव दिएका थिए। पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ। त्यस अगावै मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी छ। तर सरकारले लकडाउन मात्र थप्दै गएको अन्य विकल्प नखोजिएको भन्दै जनस्तरबाट विरोध हुन सुरु भइसकेको छ।
कठमाडौंको जोरपाटीमा मंगलबार र बुधबार व्यवसायीले अवज्ञा गरेका थिए । दरबारमार्गका व्यवसायीले समेत पसल खोल्ने चेतावनी दिएका छन् । हेटौंडामा बुधबारदेखि सबै पसल खोलिएको छ ।
नेपालमा कोरोना संक्रमण बढ्दो छ । भारतबाट आउनेहरु बढीरहेकाले अझै केही महिना संक्रमण उच्च हुने देखिन्छ । तर, महिनौं व्यवसाय ठप्प हुँदा धेरै टाट पल्टने अवस्था आउन लागेको छ । भ्याकसिन पत्ता नलागेपछि कोरोना महामारी रहिरहने भएकाले अब सतर्कता अपनाएर अघि बढ्नुको विकल्प नभएको भन्दै लकडाउनको स्वरुप फेर्न दबाब बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्