
काठमाडौं, २१ जेठ । नेपालमा आज बुधबार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार २०१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ ।
बुधबार पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ९ सय २४ र आरडीटी विधिबाट चार हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ ।
डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ । डिस्चार्ज हुने पुरुष २२२ छन् भने ५६ महिला छन्। मन्त्रालयका अनुसार बुधबार १२ जना डिस्चार्ज भएका हुन् । हाल एक लाख ५५ हजार ८ सय ८० क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।











