Logo
Logo

भारतमा कोरोना : लकडाउन खुकुलो बनाउँदै, संक्रमित बढ्दै


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, २३ जेठ (एजेन्सी) । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अघिल्ला दिनहरुमा भन्दा अहिले दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।
शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ८५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ३४८ जनाको मृत्यु भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख १० हजार ९६० जना संक्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ९ हजार ४६२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सवैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र राज्यका रहेको छ । महाराष्ट्रमा मात्रै ७७ हजार ७९३ जना संक्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २७ हजार २५६ जना संक्रमत रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २५ हजार ४ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्