Logo
Logo

लकडाउनको स्वरुप परिवर्तन गर्न सांसदको माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ । ७४ दिनदेखि लकडाउनले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएक छन् ।
राष्ट्रियसभाको बैठकमा सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले लकडाउन (बन्दाबन्दी)को हालको रणनीति बदलेर प्रभावित र कम प्रभावित क्षेत्रको किटान गरी आर्थिक गतिविधि बढाउन आग्रह गरेका ह्न् । साथै उनीहरुले कोभिड–१९ को महामारी नियन्त्रणका साथै यसबाट शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र जनजीवनलाई सहज तुल्याउन सरकार तथा सबै राजनीतिक दलबीच एकता र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
सांसद गोपीबहादुर अछामीले कोभिड–१९ को महामारीले नागरिकको स्वास्थ्यमा जटिलता र अर्थतन्त्रमा ठूलो संकट पैदा भएको दृष्टान्त प्रस्तुत गर्दै यसको सामना गर्न हालको बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर आर्थिक गतिविधि क्रमशः बढाइनुपर्ने बताए । बन्दाबन्दीले आर्थिक जनजीवन प्रभावित भएको तथा व्यावसायिक क्षेत्र पनि धराशायी अवस्थामा पुगेकाले यसलाई खुकुलो बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।
परिस्थितिलाई सहज तुल्याउन प्रभावित क्षेत्रमा कडाइ गरी अन्य कम जोखिम भएका क्षेत्रमा आर्थिक गतिविधि बढाउने ढंगले अघि बढ्नुपर्नेमा सांसद अछामीले जोड दिए । उनले शैक्षिक गतिविधि सञ्चालनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउन र दुर्गम क्षेत्रमा एफएम रेडियोमार्फत पठनपाठन सञ्चालन गर्न पनि सरकारलाई सुझाएका छन् ।
त्यस्तै, सांसद जीतेन्द्रनारायण देवले कोभिड–१९ र आर्थिक महामारीले देशलाई संकटतर्फ धकेलेकाले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाइनुपर्ने बताए । उनले नेपालजस्तो विकासोन्मुख मुलुक आर्थिक सङ्कटमा जाने खतरा बढेकाले सरकारले प्रतिपक्षीलाई समेत विश्वासमा लिएर परिस्थितिको सामना गर्न साझा संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
देशका कतिपय क्वारेन्टिन संक्रमणको स्रोत बन्ने खतरा बढेको उदाहरण प्रस्तुत गर्दै उहाँले त्यसलाई व्यवस्थित बनाई पिसिआर परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् ।
नेपालमा कोभिडका कारण १० जनाको मृत्यु र दुई हजार ६०० भन्दा बढी संक्रमित छन् । कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी शुरु गरेको थियो । पछिल्लो पटक बन्दाबन्दीको समयावधि जेठ मसान्तसम्म कायम गरिएको छ । मुलुकभित्रका आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान स्थगन गरिएको छ । आगामी असार १६ गतेसम्म उडान स्थगन गर्ने निर्णय गरिएको छ ।
सांसद भगवती न्यौपानेले लामो बन्दाबन्दीले काम गर्न नपाउने र मानिसको जनजीवन थप कष्टकर हुने अवस्था आएकाले बन्दाबन्दीको रणनीति परिवर्तन गरी जनजीवन सहज बनाउन माग गर्नुभयो । उहाँले तराई–मधेशमा नाकामा थप कडाइ गरी पहाडी जिल्ला तथा कम जोखिम भएका क्षेत्रमा बन्दाबन्दी खुकुलो पार्दै लैजानुपर्ने बताइन् ।
सांसद हरेराम चौधरीले सुदूरपश्चिममा करीब ५८ हजार नागरिक क्वारेन्टिनमा बसेको र अझै पनि आउनेक्रम चलिरहेकाले उनीहरुको स्वास्थ्य परीक्षणका लागि पर्याप्त स्वास्थ्य सामग्री तथा उपकरणको व्यवस्था मिलाउन सराकारको ध्यानाकर्षण गराए भने सांसद कविता बोगटीले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण दायरा बढाउन सरकारसमक्ष माग गरिन् । उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा जकडिएको छाउपडी प्रथा नियन्त्रणका लागि केन्द्रीय सरकारले कडा कानून ल्याइनुपर्ने सुझाव पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस्