Logo
Logo

भारतमा दैनिक १० हजारलाई कोरोना संक्रमण, इटालीमा भन्दा धेरै संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ ।
भारतमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढेर अहिले दुई लाख ३६ हजार नाघेको छ। केही दिनयता दैनिक १० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । कोभिड १९ ले साढे ६ हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ।
धेरै संक्रमित देशको सूचिमा भारत छैठौं सथानमा पुगेको छ ।


कोभिड(१९ महामारीबाट सर्वाधिक प्रभावित अमेरिकामा झन्डै १९ लाख सङ्क्रमित छन्। त्यसपछि क्रमशः ब्रजिल (छ लाखभन्दा धेरै), रुस (साढे चार लाख), यूके (दुई लाख ८४ हजार) र स्पेन (दुई लाख ४० हजार) छन्। छैटौँ स्थानमा भारत र त्यसपछि इटली (दुई लाख ३४ हजार) छन्।

भारतमा सबभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्रमा छन्।
त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या ८० हजार नाघेको छ भने २,८०० जनाको ज्यान गइसकेको छ।

दक्षिणी राज्य तमिलनाडुमा सङ्क्रमितको सङ्ख्या २८,००० भन्दा बढी छ। दिल्लीमा २६,००० र गुजरातमा १९,००० भन्दा बढी सङक्रमित छन्।

नेपालको छेउछाउमा रहेका भारतीय राज्यमध्ये उत्तर प्रदेशमा झन्डै १०,०००, बिहारमा ४,५००, उत्तराखण्डमा १,२००, पश्चिम बङ्गालमा ७,००० भन्दा धेरै अनि सिक्किममा तीन जना सङ्क्रमित पाइएको विवरण भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको छ।
त्यस्तै कोभिड(१९ का कारण उत्तर प्रदेशमा २५७ जनाको ज्यान गएको छ भने बिहारमा २९, पश्चिम बङ्गालमा ३६६ र उत्तराखण्डमा ११ जनाको ज्यान गएको छ।

समाचारसंस्था रोएटर्सका अनुसार विश्व स्वास्थ्य सङ्गठनले भारतसहित दक्षिण एशियाली देशहरूमा यो भाइरस फैलिरहेको भए पनि अहिले विस्फोटक अवस्था बताएको छ।

“तर त्यसो हुने सम्भावना सधैँ हुन्छ,“ विश्व स्वास्थ्य सङ्गठनका सङ्कटकालीन विषयका विज्ञ डा. माइक ¥यानले एउटा पत्रकार सम्मेलनमा भने विश्व स्वास्थ्य संगठनले भारतमा सङ्क्रमितको सङ्ख्या हरेक तीन सातामा दोबर भइरहेको बताएको छ।

भारतमा सङ्क्रमितको सङ्ख्या बढे पनि त्यहाँ देशभरि लागु गरिएको लकडाउनलाई भने थप खुकुलो पारिँदैछ।

जुन ८ तारिखदेखि त्यहाँका कैयौँ क्षेत्रमा रेस्टुराँ, होटल, किनमेल केन्द्र तथा मठमन्दिर खुला गर्ने बताइएको छ। भारतमा संक्रमितको संख्या तिव्र गतिमा बढ्नु र यही बीचमा त्यहाँ लकडाउन समेत खुुकलो पार्दा त्यसको असर नेपालमा समेत पर्नेछ । नेपालमा भारतबाटै आएका दुई हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । भारतबाट दैनिक १० हजार आइरहेका छन् । उनीहरुको परीक्षण समेत गर्न नसक्ने अवस्थामा सरकार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्