काठमाडौं, २७ जेठ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीमा २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ। इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला भएसँगै करिब दुई अर्ब रुपैयाँ बैंकले पाउने भएको छ ।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टीसम्बन्धि विवादको मुद्दा बैंकले जितेको थियो । कम्पनीले सो बैंक ग्यारेन्टीको रकम फिर्ता पाउनुपर्ने बताएको थियो । सो कम्पनीले सम्झौताअनुसार काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो। कानूनअनुसार इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।
सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो। बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो। केही दिनअघि अन्ततः तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरिदिएको हो।
सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन। फैसलाअनुसार इटालीको बैंकबाट अब सो रकम फिर्ता आउने भएको छ । यसबाट बैंक थप बलियो हुने बैंकका मुख कार्यकारी अधिकृत ज्योति पाण्डे बताउँछन् । बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो ।
ठूलो मुद्दा जितेसँगै अब इन्भेष्टमेन्ट बैंकका शेयरधनीले समेत बढी प्रतिफल पाउने सम्भावना बढेको छ । ठूलो मेहनतपछि यो मुद्दामा सफलता पाइएको बैंकका उच्च अधिकारीहरु बताउँछन् ।














