Logo
Logo

राष्ट्रिय सहकारी बैंक भर्चुअल बैठक र पछिल्ला निर्णय यस्ता छन् ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड सञ्चालक समितिको बैठक (भर्चुअल) अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा यही जेठ २८ गते बुधवार सम्पन्न भयो । बैठकमा बैंकको समसामियक अवस्था, लकडाउनका कारण उत्पन्न परिस्थिति र बैंकका तर्फबाट भएका समन्वय र सहकार्यका विषयमा बैंकका अध्यक्ष उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले जानकारी दिनु भएको थियो । बैंकका सञ्चालकहरु, लेखा समितिका संयोजक तथा सदस्यहरुले आ–आफ्ना जिज्ञासा र सुझाव राख्नुभएको थियो ।

वैठकले गरेका महत्वपूर्ण निर्णयहरु र बैंकको पछिल्लो वित्तीय अवस्थाबारे जानकारी दिनका लागि विज्ञप्ती जारी गरेको छ । जस अनुसार पछिल्लो अवस्थामा शेयर सदस्य १२ हजार छ भने शेयर रकम २ अर्ब ६ करोड रहेको छ । त्यसैगरी निक्षेप ३० अर्ब ९६ करोड, कर्जा लगानी २२ अर्ब ५० करोड, नाफा ४२ करोड रहेको जानकारी दिइएको छ ।

उक्त बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत सिंए बद्रीकुमार गुराराईँलाई आगामी चार वर्षका लागि म्याद थप गर्ने निर्णय गरेको छ । लकडाउनका कारण परेको समस्यालाई मध्यनजर गरी जेठ मसान्तसम्म ब्याजमा १० प्रतिशत छुट दिने तथा असार १ गतेदेखि लागू हुने गरी बचत र कर्जामा २ प्रतिशतसम्म ब्याज घटाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) बीचको सहकार्यअनुसार साझा मार्गचित्र परिमार्जन सहित पारित गर्ने र बैंकका सञ्चालक तथा प्रदेश नं. १ का संयोजक महेन्द्र गिरीका पिता बमबहादुर गिरीको यही जेठ २४ गते भएको निधनप्रति दुख व्यक्त गर्नुका साथै स्व गिरीप्रति श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्