Logo
Logo

आजदेखि काठमाडौंका मलहरु पनि खुले


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असार
सरकारले अनुमति नदिए पनि व्यवसायीले असार आजदेखि काठमाडौंका सपिङ मल खोलेका छन् । व्यवसायमा धान्नै नसक्ने घाटा भएको भन्दै विभिन्न मलहरु खुलेको छन् ।

उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी सोमबारदेखि मल सञ्चालन गरिने बताएका छन् । उनीहरूले यसको बोधार्थ नेपाल राष्ट्रिय व्यापार महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघलाई दिएका छन् । सरकारले भने मललाई तत्काल नखोल्ने निर्णय गरेको थियो । पसलहरु खोल्न दिने र मल खोल्न नदिने निर्णय विरोधाभासपूर्ण भएको व्यवसायीको भनाई छ ।

व्यवसायीले सोमबारबाट मल सञ्चालन गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवालले बताए । स्थानीय सरकारसँग बसेको व्यापार महासंघ र १७ वटा व्यापार संघको बैठकले शनिबार यस्तो निर्णय गरेको उनले जानकारी दिए ।

‘होलसेल बजार बिहान ७ देखि दिउँसो २ बजे र खुद्रा बिहान १० देखि ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ,’ उनले भने, ‘स्थानीय सरकारले पसल सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ । सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर मल चलाउँछौं ।’

सरकारले अन्य पसल सञ्चालन गर्न दिने तर सपिङ मल नदिएपछि व्यवसायीले यसको विरोध गर्दै आएका थिए । व्यवसायीले व्यवसाय सञ्चालन गर्दा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।

लामो समय व्यवसाय बन्द हुँदा घरभाडा, बैंकबाट लिइएको ऋणको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको व्यवसायीको भनाइ छ । तीन महिनासम्म व्यवसाय बन्द गरेर बस्न नसकिने भएकाले मल सञ्चालन गर्न पाउनुपर्ने ब्लुबर्ड मलका प्रबन्ध निर्देशक विनोद तुलाधरले बताए । ‘अन्य व्यवसाय सञ्चालनमा छन् । मल पनि चलाउन पाउनुपर्छ,’ उनले भने, ‘तीन महिनासम्म मल बन्द गरेर बसे कर्मचारीलाई तलब कसरी दिने ?’

शेर्पा मलका प्रबन्ध निर्देशक सञ्जीव तुलाधारले पनि सुरक्षाका उपाय अपनाएर सपिङ मल खोल्न पाउनुपर्ने बताए । ‘नेपालका मल ठूला नभएकाले व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने । मल एसोसिएसनले भने व्यवसाय सञ्चालनका विषयमा केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्