Logo
Logo

सुकुम्बासी बस्तीमा भेटिइन् अन्जु पन्त (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार । नेपाली गीतसंगीतकी चर्चित गायिका अञ्जु पन्त लकडाउनमा पनि व्यस्त रहिन् । अरुबेला स्टेज कार्यक्रम र रेकर्डिङमा व्यस्त रहने अञ्जु करिब लकडाउनको यो तीन महिनाको अवधिमा राहत वितरणमै व्यस्त भइन् ।
बुधबार सिनामंगलस्थित सुकुमबासी बस्तीमा राहत वितरण गर्नुअगाडि उनले भनिन्, ‘यो लकडाउनमा गीतसंगीतमा भन्दा बढी राहत वितरणमै व्यस्त भएँ ।’
गायनसँगै ‘अञ्जु पन्त फाउण्डेशन’मार्फत सामाजिक सेवामा समेत सक्रिय हुँदै आएकी यी सुगम संगीतकी चर्चित गायिकाले लगडाउनको मारमा समस्यामा परेकालाई निरन्तर सहयोग गर्दै आएकी छन् ।


यसैक्रममा बुधबार उनी सिनामंगल बागमती किनारमा रहेका एक सय परिवार सुकुम्बासीलाई राहत लिएर पुगेकी थिइन् । विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि देश लकडाउनको घोषणा गरेको थियो । त्यसयता गायिका अञ्जुले सयौँलाई निःशुल्क खानामात्र खुवाइनन्, उनले दाल, चामललगायतका अत्यावश्यक खाद्यन्न समेत वितरण गरिन् । यसैक्रममा बुधबार लामो समयको लगडाउनले ज्याला मजदुरी गर्ने मजदुरका परिवारहरु समस्यामा परेको थाहा पाएपछि स्थानीय क्लवसँग समन्वय गरी आफैँले राहत बाँडेकी हुन ।
राहत वितरण गरेपछि अञ्जुले भनिन्, ‘यो लकडाउनका कारणले समस्यामा परेर कोही भोकै नहोस् भन्ने मेरो मान्यता हो ।’ अञ्जु बुधबार बिहानैदेखि राहत वितरणमा खटेकी थिइन् । गायिका अञ्जुले सिनामंगलमा राहत वितरण गर्नुपूर्व ललितपुर क्षेत्रमा सात परिवारलाई पनि राहत वितरण गरेकी थिइन् ।


बुधबार सिनांमगलमा दुई हजारभन्दा बढीको संख्यामा रहेका सुकुम्बासी बस्तीमा अति आवश्यकतामा परेका सुत्केरी, अशक्त, विकलांकलगायतकालाई राहत वितरण गरिएको थियो । राहतस्वरुप चामल, तेल, दाललगायतका सामाग्री वितरण गरिएको थियो ।
गायिका अञ्जुले यो लकडाउन अवधिमै एक हजारभन्दा बढीलाई खाना खुवाउने, संगीत क्षेत्रका रेकर्डिष्टलाई खाद्यान्न वितरण लगायतका कार्य गरिसकेकी छन् । गायिका अञ्जुले सामाजिक सेवाको क्षेत्रमा कार्य गर्नका लागि नै ‘अञ्जु पन्त फाउण्डेसन’ चार बर्षदेखि सञ्चालन गर्न सुरु गरेकी हुन् । साथै, उक्त फाउण्डेशनमार्फत अञ्जुले बृद्धबृद्धाहरुलाई समेत हेरचाह गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्