Logo
Logo

कामपाको नीति तथा कार्यक्रम : महामारी प्रभावित करदातालाई सहुलियत


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ असार । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ । कामपाद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७७ र ०७८ को नीति तथा कार्यक्रममा महामारीबाट प्रभावित करदातालाई सहुलियत उपलब्ध गराउने व्यवस्था उल्लेख छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट सहुलियत दिनेजस्ता नीति महानगरपालिकाले लिएको बताएका छन् । आव २०७७ र ०७८ लाई करदाताको अभिलेखन वर्ष घोषणा गरी वैज्ञानिक एकीकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार व्यवस्थापनमा स्नातक र स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने बताइएको छ ।
आन्तरिक स्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
करदातालाई कर प्रणालीमा स्वेच्छिकरुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने कामपाको नीति छ । कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागू गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने पनि नीतिमा भनिएको छ ।
कामपाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटेल, रेष्टूराँ, सपिङमललगायत अन्य व्यापार व्यवसायलाई विशेष सहुलियत प्रदान गर्ने नीति पनि लिएको छ । दुई सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, आवागमन व्यवस्थापनमा केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्