Logo
Logo

धमाधम नेपालीको उद्धार, दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ असार । विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् ।


जजीरा, कतार, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन् ।
आजमात्रै अन्तर्राष्ट्रिय नौ र आन्तरिकतर्फ आठ उडान हुने विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीबाट २५९ नेपाली काठमाडौँ ल्याउँदैछ । गएराति सिड्नी उडेको नेपाल एयरलाइन्सको वाइड बडी जहाज उताबाट यात्रु भरेर काठमाडौँका लागि उडिसकेको बताइएको छ । एयरलाइन्सको अन्य मुलुकबाट पनि उडान गर्ने तालिका छ ।
आज हिमालय एयरलाइन्सले दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट १४५ नेपाली स्वदेश फर्केको कतारस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड– १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली भएको दूतावासले उल्लेख गरेको छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरणअन्तर्गत दोस्रो उडानमार्फत दोहाबाट काठमाडौँका लागि हिमालय एयरलाइन्सको उडानबाट १४५ नेपाली फर्किएको जनाएको छ । यी उडानमा एक गर्भवतीसहित ६१ महिला र ८४ पुरुष रहेको दूतावासले जनाएको छ ।
सोही एयरलाइन्सले आज कुवेतबाट नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याउने कार्यतालिका छ । चार दिनयता दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सोमबार अन्तर्राष्ट्रियमा १० र आन्तरिकमा सात उडान भएका थिए । आइतबार दुबैगरी १६ र शनिबार १५ उडान भएको विमानस्थलले जनाएको छ । विदेशबाट नेपाली उद्धारका लागि बाक्लो संख्यामा चार्टर्ड उडान भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिएका छन् । यो प्रक्रिया जुन महिनाभर चल्नेछ ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले जुन महिनाभरका लागि उडान तालिका सार्वजनिक गरिसकेका छन् भने विभिन्न मुलुकाट हुने उद्धार उडानको पनि तालिका बनेको छ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज प्रयोग भएका छन् । सरकारले विभिन्न मुलुकमा अलपत्र करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्