Logo
Logo

डिआईजी र एसपीमाथि सांसदको गम्भीर आरोप, होला छानबिन ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असार
नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले नेपाल प्रहरीलाई नेकपा(प्रहरी) बनेको आरोप लगाएका छन् । मंगलबार संसदमा बोल्दै उनले नेकपाको निर्देशनमा आफ्नो पार्टीका कार्यकर्तालाई झुटा मुद्दा लगाइएको दाबी गरे । अझ गम्भीर कुरा त डिआईजी र एसपी नै प्रमाण नभएपनि दबाबमा मुद्दा चलाउन दबाबा आएको भनेर संसदमा बताएका छन् ।

असार ७ गते सर्लाहीको रामनगर नगरपालिकाको वडा नम्बर ४ मा रामजनम रायको हत्या भएको थियो । जसमा कांग्रेसका वडा अध्यक्ष लगायतलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । राजनीतिक प्रतिरोधका आधारमा मुद्दा चलाइएको सांसद सिंहको दाबी छ ।
उनले संसदमा भने‘प्रदेश प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले भनेका छन् कि प्रारम्भिक अनुसन्धानमा कांग्रेसको मान्छेको कुनै संलग्नता छैन । जिल्ल्ला प्रहरी प्रमुख एसपीले मलाई भनेको थियो घटना छैन । तर, हिजो उनीहरुले हात खडा गरेर भन्छन् माथिबाट दबाब आयो, त्यसकारण मुद्दा दर्ता गर्न बाध्य भयौं । हामीलाई जागिर खानै गाह्रो भयो । यो भनाई मेरो होइन, त्यहाँको जिल्ला प्रहरी प्रमुखको हो, त्यहाँको प्रदेश प्रहरी प्रमुखको हो ।’

यसरी प्रहरीको नाम नै लिएर सांसदले संसदमा बोल्नु गम्भीर विषय भएको प्रहरी अधिकारी बताउँछन् । ‘यदी प्रहरी अधिकारीले त्यसो भनेकै हो भने उनीहरुमाथि कारबाही हुुनप¥यो,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘यदी होइन भने प्रहरीको बारेमा बदनामी गर्ने सांसदलाई कारबाही हुनुपर्छ ।’

सर्लाहीमा हाल एसपी विश्वराज पोरखेल कार्यरत छन् । प्रदेश नम्बर २ मा डिआईजी धिरज प्रताप सिंह छन् । उनीहरुले माथिको दबाबमा मुद्दा दायरेको बताएको कुरा संसदमै उठेपछि यो विषय पेचिलो बनेको छ । हत्या घटनामा कांग्रेस वडा अध्यक्ष लगायतको पर्याप्त प्रमाण भएर नै सर्लाही प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्