काठमाडौं । महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा पनि नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको छ । यो सँगै उपाधि होडबाट नेपाल बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए ।
यसअघि नेपाल तीनवटै खेलमा पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो । अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुनेछैन ।
सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने शृंखलामा थाइल्याण्डको भने यो लगातार चौथो जित हो । योसँगै थाइल्याण्ड उपाधि होडमा बलियो देखिएको छ ।