Logo
Logo

ओलीमाथि अष्टलक्ष्मी शाक्यको प्रश्नः यस्तो तालले कसरी पार्टीको नेतृत्व गर्न सक्नुहुन्छ ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ असार ।
नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपनि नेताहरु आक्रोशित भएका छन् । आलोचना सुन्न नसकेपछि शुक्रबारको बैठकमा ओली अनुपस्थित भएको नेताहरुको आरोप छ । कतिपयले त अध्यक्षको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका छन् ।


नेतृ अष्टलक्ष्मी शाक्य, भिम रावल लगायतले बैठकमा अनुपस्थित भएको भन्दै आलोचना गरेका थिए । ‘हामी बालुवाटारमै बैठक बसिरहेका छौँ । सायद प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेरै बैठक राखिएको होला, तर उपस्थित नै हुनुहुन्न । यो त सीधै बैठकमाथिकै अपमान भयो । उहाँ कुरा सुन्न चाहनुहुन्न । सकभर बैठकै डाक्नुहुन्न, डाकिहाल्यो भने पनि कुरै सुन्न चाहनुहुन्न । सबै साथीहरूले सीमा समस्या, राष्ट्रियताको कुरा उठाइरहनुभएको छ । यसरी उहाँले कसरी पार्टीको प्रतिनिधित्व र नेतृत्व गर्न सक्नुहुन्छ ?’ स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘सुझाबै लिन नचाहने भएपछि त गम्भीर कुरा भयो । यदि यस्तै थियो भने त पार्टी कार्यालय धुम्बाराहीमै बैठक बस्दा भइहाल्थ्यो । धुम्बाराहीमा भएको भए हामी मन बुझाउन सक्थ्यौँ, तर ठ्याकराक्कै आँगनमै खुत्रुकै आउँदा हुने ठाउँमा बैठक बसिरहेका छौँ ।’
बालुवाटारमै बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थित भएपछि शुक्रबारको बैठकको कार्यसूची नै प्रभावित भएको थियो । सुरुमा दुई अध्यक्षबाहेक सचिवालयका सदस्यहरूले धारणा राख्ने कार्यसूची बनाइए पनि ओली अनुपस्थित भएपछि एकजना सचिवालय सदस्य मात्र बोलेका छन्, अन्य १७ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बैठकमा हरेक सदस्यलाई १० मिनेटको समय दिइएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा नआएकोमा स्थायी कमिटी सदस्यहरूले विरोध र असन्तुष्टि जनाएका थिए । आफैँले दुईपटकसम्म बैठक स्थगित गर्ने र त्यसपछि बोलाइएको बैठकमा पनि सहभागी नहुने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यशैलीमाथि नेताहरूको प्रश्न थियो । यसअघि २५ र ३१ वैशाखमा तय भएको नेकपाको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

अर्का नेता भीमबहादुर रावलले बैठकलाई उपेक्षा गरेर अनुपस्थित भएको भए गम्भीर विषय भएको बताए । ‘पार्टीको बैठकमा झण्डा, ब्यानर केही पनि छैन । राजनीतिक प्रतिवेदनमा सामाजिक न्याय र समानताका कुरा गर्ने, यहाँचाहिँ दुई विशिष्ट व्यक्तिलाई सोफा अनि अरूलाई कुर्सी केका लागि ?’ रावलले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘पहिला प्रधानमन्त्री अस्वस्थ हुनुहुन्थ्यो, त्यसैले हामी बैठकका लागि यहाँ (बालुवाटारमा) उपस्थित हुने गथ्र्यौँ, अहिले त उहाँ बिरामी पनि हुनुहुन्न, उपस्थित पनि हुनुहुन्न, हाम्रा सुझाब सुन्न पनि चाहनुहुन्न । यसरी उहाँले बैठकलाई उपेक्षा गरेर अनुपस्थित हुने हो भने यो बैठक धुम्बाराहीमा सारौँ ।’

प्रतिक्रिया दिनुहोस्