
काठमाडौं । महिला त्रिकोणात्मक टि–२० आई सिरिजको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई सामान्य रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन् । कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन् ।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् ।
यस खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीले मौका पाएकी छिन् । राजमतीको राष्ट्रिय महिला टोलीबाट यो डेब्यु खेल हो ।
सिरिजमा यसअघि खेलेका सबै खेल हारेको नेपाल सान्त्वना जित हात पार्ने लक्ष्यमा रहेको छ । थाइल्याण्ड नेपाललाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा छ ।
नेपालले थाइल्याण्डलाई फराकिलो रुपमा पराजित गरेमा नेदरल्याण्ड्सको उपाधि सम्भावना कायमै रहनेछ । थाइल्याण्ड नेपालसँग कम अन्तरले पराजित भएमा पनि च्याम्पियन बन्ने छ ।














