दुर्घटनामा पत्रकारको निधन


Published On : 28 June, 2020

रुपन्देही, १४ असार । सवारी दुर्घटनामा परी रुपन्देहीमा गएराति एक कलाकार तथा पत्रकारको निधन भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।
बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोल तर्फ जाँदै गर्दा राति करीब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते हुनुभएका न्युज २४ टिभीमा कार्यरत पत्रकार पाण्डेको गए राति करीब १२ः४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय पत्रकारितामा नै व्यस्त पाण्डेले पावरन्युजनेपाल अनलाइन सञ्चालन गर्दै आएका थिए । स्थायी घर स्याङ्जाको बिर्घा रहेका पत्रकार पाण्डेको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तीजगीत चर्चित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्