काठमाडौं । नियामक संस्था नेपाल धितोपत्र बोर्डले नेपालमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन सक्रियता देखाएको छ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोस नारायण श्रेष्ठ नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र दिन सबै काम छाडेर लागिपरेका छन् ।
मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णय कार्यान्वयन गर्नका लागि अर्थ मन्त्रालयले पत्रचार गरेको थियो । त्यसपछि अध्यक्ष श्रेष्ठले दुई पटक बोर्ड बैठक राखिसकेका छन् ।

पहिलो बोर्ड बैठकमा अधिकांश सञ्चालकहरू हतारमा नयाँ स्टकको अनुमति दिन नहुने राय राय राखेपछि दोस्रो गत बिहीबार बसेको थियो ।
बैठकमा २ जना बोर्ड सदस्यहरूले भने उपस्थिति जनाएका थिएनन् । राष्ट्र बैकबाट प्रतिनिधित्व गर्ने तुलसी प्रसाद घिमिरे र उद्योग वाणिज्य महासंघकातर्फबाट बोर्ड सदस्य गोकर्णराज अवस्थी अनुपस्थित भएका हुन् ।
एकातिर नयाँ स्टक एक्सचेन्जको अनुमति दिन धितोपत्र बोर्डलाई हतारो भएको छ भने अर्कातिर यो विषय संसद्मा प्रवेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाका लागि कानुनले नै कल्पना नगरेको निर्देशिका बनाएर सरकारले लाइसेन्सको अनुमति दिन लागेको आरोप लगाएका छन् । साथै उनले दिनै पर्ने भए कानुनी प्रकृया पुरा गरी बोलकबोल गरी दिनुपर्ने बताएका छन् ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागि ३ वटा कम्पनीको आवेदन परेको छ । हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सजेन्स र नेश्नल स्टक एक्सचेन्जको आवेदन परेको छ ।
हिमालयन स्ट एक्सचेन्ज व्यवसायी दीपक भट्टले नेतृत्व गरिरहेका छन् भने अन्नपूर्ण स्टक सञ्चार उद्यमी रामेश्वर थापाले नेतृत्व गरेका छन् । यस्तै, नेश्नल स्टक एक्सचेन्ज भने गैर आवाशिय नेपालीहरुसहित उपेन्द्र महतोले नेतृत्व गरिरहेका छन् । स्टक आफ्नो कम्पनीमा पार्न त्रिपक्षिय कर्पोरेट वार गरिरहेका छन् ।
यसअघि गत वैशाख २८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गत जेठमा नयाँ स्टक एक्सचेन्जको काम अघि नबढाउन निर्देशन दिएको संघीय संसद्को अर्थ समितिले गत कात्तिक २४ गते भने अनुमतिको प्रक्रिया अघि बढाउन बाटो खुलाइदिएको थियो।














