Logo
Logo

छोराको मृत्युपछि पाउने पैसामा विवाद हुँदा बुहारीको हत्या


- दृष्टि न्युज/संवाददाता


हेटौंडा, १५ असार ।
हेटौंडा ४ स्थित कर्रा निवासी सुस्मिता क्षेत्री थापाको हत्या उनकै परिवारबाट भएो प्रहरीले बताएको छ । पैसाको विवाद र यौन दुव्र्यवहारको घटना लुकाउन हत्या भएको प्रहरी दाबी छ ।


पत्रकार सम्मेलन गर्दै प्रहरीले सुस्मिता हत्याकाण्डमा संलग्न रहेका एकाघरका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई सार्वजनिक गरेको हो । २ असारमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सुस्मिताको हत्यामा ससुरा, सासु, नन्द र जेठी नन्दको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख एसपी सुशीलसिंह राठौरले आर्थिक प्रलोभनमा परेर परिवारकै सदस्यहरुको संलग्नतामा सुस्मिताको हत्या भएको बताए । २३ असोज २०७६ मा कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा सुस्मिताका पति रुपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो । एसपी राठौरका अनुसार सुस्मिताका पति रुपेन्द्रको मृत्युपछि उनले पाउने रकमबारे परिवारभित्र विवाद भइरहेको अनुसन्धानबाट खुलेको छ ।

‘रुपेन्द्रको मृत्युपछि उनले पाउने सवारी दुर्घटनाबापतको रकम, उनी कार्यरत क्लोजर सिस्टम इन्टरनेशन नेपाल प्रालिबाट पाउने सेवासुविधा, सामाजिक सुरक्षा कोष र बीमा रकम कसले लिने भन्नेबारे परिवारमै विवाद भएको देखिन्छ,’ एसपी राठौरले भने ‘रुपेन्द्रको मृत्युपछि सुस्मितालाई परिवारले बारम्बार रकम लिनेदिनेबारे मानसिक यातना र सँगै ससुरा प्रकाशले यौन दुर्व्यवहारसमेत गरेको खुलेको छ ।’ प्रहरी उपरीक्षक सिंहका अनुसार सुसराले मृतक बुहारीलाई बाथरुममा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

प्रहरीका अनुसार मृतककी पतिको निधनपश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो । बिमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ समेत भने ससुराले झिकिसकेको प्रहरीले जनाएको छ ।

आर्थिक कारणसँगै ससुरा प्रकाशले आफ्नी बुहारी सुस्मितामाथि यौन दुर्व्यवहार गरेका कारण घटना बाहिरिने भन्दै यसलाई साम्य पार्न हत्याको योजना बनाइएको अनुसन्धानबाट खुल्न आएको राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्