Logo
Logo

खुमलटारको निष्कर्ष : ‘पार्टी विभाजन गर्नु दिनुहुँदैन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीभित्रैबाट प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने दबाव बढ्दै गएको छ । तर, प्रधानमन्त्री ओली भने आफूलाई बचाउनेतर्फ अगाडि बढेको छन् ।
प्रधानमन्त्री ओलीले आफूलाई बचाउन आफ्ना निकटका नेता र मन्त्रीहरुसँग छलफलमा जुटेका छन् । तर, अर्कातिर उनीविरोधी नेताहरुले भने ओलीलाई कसरी हटाउने भन्ने राणनीतिक छलफलमा जुटिरहेका छन् ।
एक अर्कालाई कसरी सिध्याउँने र बचाउँने भन्ने रणनीति चलिरहेको बेला आज बिहान खुमलटारमा ओली पक्षधर र विरोधी नेताहरुबीच छलफल भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै सल्लाहमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको छलफलमा केही स्थायी समिति सदस्य तथा मन्त्रीहरु सहभागी थिए ।
करिब दुई घण्टा लामो छलफलमा सहभागी नेताहरुले ‘पार्टी एकता कसरी बचाउने’ भन्नेमा चिन्ता व्यक्त गरेको स्रोतको भनाइ छ । छलफलमा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा कुरा छलफल भएको एक स्थायी समिति सदस्यले बताए । ‘पार्टी विभाजन गर्नु दिनुहुँदैन’ भन्नेमा उनीहरु एकमत भएका छन् ।
छलफलमा सहभागी नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले अहिलेको अवस्था भनेको पार्टी एकतालाई बचाउनु आवश्यक रहेकाले छलफल र सहमतिबाट समस्या सामधान गर्नुको विकल्प नभएको बताए । नेता हरिबोल गजुरेल पनि अहिलेको आन्तरिक समस्या छलफल र सहमतिबाटै सुल्झाउनुपर्नेमा जोड दिएका छन् ।
छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए ।
त्यस्तै प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डे सहभागी थिए । पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग भएपछि दुवै पक्षले छलफललाई तीव्र पारेका हुन् । बुधबार बेलुका मात्र ओलीविरोधी स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए । स्थायी समिति बैठक आज बालुवाटारमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्