Logo
Logo

सडकका इन्जिनियरसँग तीन करोड अकुत सम्पत्ति, भ्रष्टाचार मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ।
सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । तीन करोड २१ लाख रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।


नेपाल सरकारको सरकारी सेवा अन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव–ओभरसियर पदमा मिति २०४१–०६–१२ मा अस्थायी नियुक्तिमा सेवा प्रवेश गरी मिति २०४३–०३–२१ मा ओभरसियर पदमा स्थायी नियुक्ति पश्चात् विभिन्न कार्यालयहरुमा कार्यरत रहँदै मिति २०६४–१०–०१ मा इन्जिनियरमा पदोन्नति भएका निज डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत थिए ।
सार्वजनिक सेवामा प्रवेश पश्चात निज भरतराज अर्यालले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरुसमेत अस्वभाविक मात्रामा बैकिङ कारोवार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफु अनुकूल लगानी खर्च गर्ने गरेको देखिएको अख्तियारले जनाए ।
अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार निज भरतराज आचार्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ जेठ मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही जम्मा रु. २,०७,७९,९८६।–(दुई करोड सात लाख उनासी हजार नौ सय छयासी रुपैयाँ) आय आर्जन गरेको देखिएको छ । अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी खर्चमा निज भरतराज आचार्यले ५ करोड २९ लाख ४२ हजार चार सय ६६ देखिएको छ ।

उनले तीन करोड २१ लाख ६२ हजार चार सय ८० रुपैयाँ अकुत कमाएको आयोगको दाबी छ ।
सार्वजनिक पद धारण गरेका भरतराज आचार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज भरतराज आचार्यलाई बिगो रु. ३,२१,६२,४८०।– (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी रुपैयाँ) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानुनी रुपमा निज भरतराज आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु निजले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उक्त स्रोत नखुलेका सम्पत्तिहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्