Logo
Logo

पेशागत सुरक्षाको माग गर्दै पत्रकारको प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकारहरुले शुक्रबार बबरमहलमा प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीले ‘पत्रकारको विचल्लीमा कति कोरोना कति बहाना’, ‘श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आन्दोलन गरौँ’, ‘कोरोनामा पहिलो प्रहार पत्रकारमाथि किन’, ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार रक्षा गर’ र ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन् ।
सो अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउसले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुको सट्टा उल्टै काम गरिरहेका श्रमजीवी पत्रकारलाई निष्काशन गरेर अन्याय गरेको र त्यसको विरुद्धमा कडाभन्दा कडा संघर्षका लागि सबैलाई आह्वान गरेका छन् ।
कार्यक्रममा महासचिव रमेश विष्टले मिडिया हाउसले कोरोना महामारीको बहाना बनाउँदै धमाधम पत्रकारलाई निष्काशन गर्ने काम गरेकोमा आपत्ति जनाउँदै पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले चरणबद्ध आन्दोलन शुरु गर्ने बताए । महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताए ।
प्रेस संगठनका संयोजक महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने बताए । यस्तै, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देलले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिए ।
सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितलगायत पत्रकारितासंग सम्बन्धित विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिले श्रमजीवी पत्रकारको पेशागत अधिकार र सुरक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्