- नन्दा थापा
बाजुरा २० असार । शुक्रबार रातीदेखि अविरल वर्षाका कारण बाउली खोला उर्लिँदा ठूलो क्षति पु¥याएको छ । बडीमालिका नगरपालिकाका बाउली, गड्खेत, सेलाघाट, रापक, पानी नाउला, गडाङ्गा, तिपाडा र बुढीगंगा नगरपालिकाका बल्दे, सेरा, बार्जुगाडलगायतका क्षेत्रमा क्षति पु¥याएको हो । बडीमालिका नगरपालिका ९ सेलाघाटमा २० परिवारको रोपेको धान बगाएको छ भने गचे थापाको घर जोखिममा पारेको नगरपालिकाका उपप्रमुख कविता विष्टले बताए ।

बाउली खोला बढेसँगै सो क्षेत्र आसपासको बस्ती जोखिम बनेको छ भने सो क्षेत्र किनाराका खेतहरू सबै बगाएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव निरीक्षक टंकप्रसाद भट्टराईले बताए । शनिबार बिहानै बडीमालिकाका नगरपालिकाका जनप्रतिनिधि, प्रहरी र सशस्त्र प्रहरीको टोलीले अनुगमन गरेको छ । उपप्रमुख कविता विष्ट तत्काल घटनास्थल पुगेर ७ घरलाई त्रिपालको सहयोग गरेकी छन् । त्रिपाल रेडक्रसको सहयोगमा वितरण गरिएको हो ।
राती परेको अबिरल बर्षासँगै आएको बाढीले गाउँ नै जोखिम बनाएको स्थानीयले बताएका छन् । बाउली खोलाले बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाका नदी किनाराका छेउछाउ वर्षेनी बगाउँदै आएको छ ।

यस्तै, लगातारको बर्षाले त्रिबेणी र बुढिगंगा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुंगे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी गएपछि आवतजावतमा जोखिम भएको वडा–२ अध्यक्ष हिरालाल थापाले बताए । पुलमाथि पानी बग्दा त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा आवत–जावतमा समस्या भएको छ ।
बुढिगंगा नदीले बाजुराको द्धावारी, तिपाडा, राप्क अछामको साँफे, बुढाबगरलगायत विभिन्न ठाँउका दर्जनौँ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानयीबासीले बताएका छन् ।

वाईवाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाँउपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले वताए । त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत जोखिममा रहेका छन् । अछाम–बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बुढिगंगा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, बाहुली खोला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुंगे पुल जोखिममा रहेको स्थानीयले बताएका छन् ।












