Logo
Logo

पार्टी फुट रोक्न नेकपाका युवा नेताहरु दबाब अभियानमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असार ।
नेकपाभित्र फुटको जोखिम बढेपछि नेता तथा कार्यकर्ताहरु नेतृत्वलाई एकताका लागि दबाब अभियानमा लागेका छन् । नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी समूहको प्रतिनिधित्व हुने गरी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालनिकट तेस्रो तहका नेताहरू दबाब अभियानमा संगठित भएका हुन् ।

महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको संयोजन र नेतृत्वमा तेस्रो तहका नेताहरूको शनिबारको बैठकले सातवटै प्रदेशमा एकताका लागि दबाब अभियान चलाउने निर्णय गरेको छ ।

बैठकमा पूर्वएमालेबाट मन्त्री गुरुङसहित केन्द्रीय सदस्य तथा सांसदहरू गणेश पहाडी, खिमलाल भट्टराई, यज्ञराज सुनुवार, लीलानाथ श्रेष्ठ, झपट रावललगायत छन् भने पूर्वमाओवादी समूहबाट टेकबहादुर बस्नेत, सुरेश राई, कमला रोक्का, श्याम श्रेष्ठलगायत छन् । अहिलेसम्म दुवै समूहबाट दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य तथा सांसदहरू समेटिएका छन् ।

भेलामा सहभागी नेकपाका केन्द्रीय सदस्य तथा सांसद पहाडीले पार्टी फुटको हल्ला चल्दै गएको परिप्रेक्ष्यमा एकतालाई सुदृढ गर्न तथा एकताविरोधी अभियान तत्काल रोक्नका लागि शीर्ष नेताहरूलाई भेटेर दबाब दिइने बताए । उनीहरूले अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको समय लिएर बैठकको निर्णय सुनाउँदै सुझाब दिने गरी संयोजन गर्ने जिम्मेवारी मन्त्री गुरुङलाई दिएका छन् ।

मन्त्री गुरुङले पनि पार्टीको सम्भावित विभाजनलाई रोक्न यस्तो दबाब अभियान शनिबारबाटै क्रमशः सातवटै प्रदेशमा क्रमशः भेला र बैठक तीव्र बनाइने पनि जनाएका छन् ।

तत्कालीन एमालेबाट जनजाति पृष्ठभूमिका नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरूले विभाजनको कोसिस गर्दा पनि गुरुङसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, यज्ञराज सुनुवारलगायतका नेताहरूले एकताको पक्षमा दबाब अभियान चलाएका थिए । दोस्रो तहका स्थायी समितिका नेताहरूले भने कृषिमन्त्री घनश्याम भुसालको नेतृत्वमा शुक्रबारबाट दबाब अभियान सुरु गरेका थिए ।

त्यस्तै, केन्द्रीय सदस्यहरू जगन्नाथ खतिवडा, ठाकुर गैरे, हिमाल शर्मा, डा. विजय पौडेल, रामकुमारी झाँक्रीसहित करिब ५० नेता–कार्यकर्ताको अगुवा समूहले शुक्रबारबाट सुरु गरेको पार्टी कार्यालय धर्ना अभियानलाई शनिबार पनि निरन्तरता दिएका छन् । उनीहरूले त्यस्तो कार्यक्रम शनिबारबाट सबै जिल्लास्थित पार्टी कार्यालयमा विस्तारित भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्