Logo
Logo

तनहुँको डुम्रेमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण


- दृष्टि न्युज/संवाददाता


दमौली, २२ असार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण शुरु भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेशन बनाउन लागिएको हो ।
सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेशन निर्माण शुरु भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । चार्जिङ स्टेशनका लागि वन कार्यालयले रु पाँच लाख अनुदान सहयोग गरेको छ ।
वन तथा वातावरण मन्त्रालयको सशर्त अनुदानअन्तर्गत विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने र पेट्रोलियम पदार्थ खपत कम गर्दै वातावरणमा शुद्धता ल्याउने उद्देश्यसहित तनहुँमा पहिलो पटक सो निर्माण शुरु गरिएको हो । उनले भने, ‘काठमाडौँ र पोखराको केन्द्रविन्दुमा चार्जिङ स्टेशन निर्माण हुने भएकाले यहाँ निर्माण हुने स्टेशनले धेरैलाई प्रत्यक्ष लाभ पुग्नेछ । यस चार्जिङ स्टेशनबाट साना तथा ठूला विद्युतीय सवारी साधन चार्ज गर्न सकिन्छ ।’
स्टेशनको सम्पूर्ण व्यवस्थापन कुवेर आयल स्टोर्सले गर्नेछ । चार्जिङ स्टेशनका लागि अन्य आवश्यक व्यवस्थापन बन्दीपुर गाउँपालिकाले समेत गर्ने छ । सवारी साधनको आवागमन भइरहने मुख्य शहरभित्रका मूल सडक तथा राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेस्टुराको पार्किङस्थल चार्जिङ स्टेशनका लागि उपयुक्त हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्