Logo
Logo

‘वान टु वान’ वार्ता निष्कर्षविहीन : पेलेरै जाने अढानमा प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


फाइल फोटो

काठमाडौं, २२ असार । सत्तारुढ नेकपाको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता निष्कर्षविहीन टुंगिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओली र प्रचण्डबीच आज बिहानको १० जेदेखि वार्तामा बसेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली र प्रचण्ड ‘वान टु वान’ वार्ता निष्कर्षविहीन टुंगिएको स्रोतको भनाइ छ ।
अध्यक्षद्वयको वार्ता सकारात्मक भएको भनिएपनि उनीहरुबीच कुनै सहमति नभएको एक नेताले बताए । आज बोलाइएको स्थायी समितिको बैठक स्थगित गरेर अध्यक्षद्वय वार्तामा बसेका थिए । दुवै पक्षले अडानमा नछाडेपछि वार्ता निष्कर्षविहीन सकिएको बताइएको छ ।
पार्टीको एकता बचाउन युवा नेताहरुको दबाबपछि स्थायी समिति स्थगन गरेर शीर्ष नेताहरु फेरि छलफलमा जुटेका छन् । दुवै पक्षको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु एकता बचाउन सक्रिय भएका छन् । घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहितका युवा नेताहरू यतिबेला एकता बचाउनका लागि दुवै पक्षसँग सम्मवादमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाव दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति सामना गर्ने बताउँदै आएका छन् । सचिवालयका बहुमत सदस्य र स्थायी समितिका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि आन्तरिक कलहले उग्ररुप लिएको हो ।
आइतबार पनि दिनभर नेकपाका नेताहरु आन्तरिक छलफल र परामर्शमा जुटेका थिए । अध्यक्ष ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । तीनैजना नेताहरुले पार्टी विवादमा राष्ट्रपतिलाई तान्ने प्रयास गलत भएको र पार्टीलाई समेत उपेक्षा गर्दै पेलेर अघि बढ्ने ओलीको प्रवृत्तिप्रति नेताहरु आक्रोशित भएका छन् । पछिल्लो केही दिनयता ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग नेताहरुले राख्दै आएका छन् भने ओली दुवै पद नछाड्ने अढानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्